काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाइसहित उक्त दलका वरिष्ठ नेता बालेन शाह भावी प्रधानमन्त्री बन्ने लगभग पक्का भएसँगै त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ। यसले लगानीकर्ताको मनोबल बढेको देखिन्छ।
स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा सेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको थियो। बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो। त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो। पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै सोमबारका लागि कारोबार बन्द गरिएको थियो।
मंगलबार पनि त्यो उत्साह सेयर बजारमा देखिएको छ। यसदिन सेयरबजार परिसूचक नेप्से प्रि ओपन सेसनमै ३५ अंकले बढ्यो। त्यसपछि बजार करेक्सनतर्फ गएर ९ मिनेटमै ९०.८२ अंकले घटेको थियो। त्यसपछि उतारचढावबीच नेप्से घटबढको क्रममा छ।
यता सेयर किनबेचको क्रम बाक्लिएको छ। कारोबार सुरु भएको एक घण्टामै को कारोबार भएको छ। दिउँसो १२ बजेसम्म करिब ११ अर्बको सेयर कारोबार भएको छ।
१२ बजेसम्म १० अर्ब ८९ करोड ५३ लाख रुपैयाँको २ करोड ६८ लाख ४१ हजार ७८९ कित्ता सेयर १ लाख ४ हजार १६७ पटकमा किनबेच भएको छ।
नेप्सेमा भने करेक्सन देखिएको छ। ५८.२६ विन्दूले घटेर बजार दुई हजार ८१७.२६ बिन्दुमा छ।


