काठमाडौं। चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी सुस्त देखिएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६ प्रतिशत बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशत मात्र विस्तार भएको छ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले लचिलो मौद्रिक लिँदै चालू आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ। सात महिनाको प्रगति हेर्दा उक्त लक्ष्य भेट्न मुस्किल देखिएको छ। लक्ष्य भेट्न सात खर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट दुई खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत अर्थात दुई खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ बढेको थियो।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ र ३६.२ प्रतिशत थियो।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.२, विकास बैंकहरूको ३ र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.८ प्रतिशत बढेको छ।
गत माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ को सात महिनामामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६, निर्माण क्षेत्रतर्फ ८.७, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ६.८, औद्योगिक उत्पादन क्षेत्रतर्फ ४.८ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत बढेको छ।
कृषि क्षेत्रतर्फको कर्जा १.४ र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा १६.२, मार्जिन प्रकृतिमा ११, हायर पर्चेज ९.३, आवधिक ३.१, रियल स्टेट ( व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५, क्यास क्रेडिट २.१ र माग तथा अन्य चालू पुँजी कर्जा १.८ प्रतिशत बढेको छ। अधिविकर्ष कर्जा ३.४ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६ प्रतिशत बढेको छ। साउनदेखि माघसम्म चार खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप थपिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत अर्थात दुई खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँ बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५, ४२.८ र ४१.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत थियो।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ। २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत थियो।


