काठमाडौँः पाल्पा सिमेन्ट इण्डस्ट्रिजले निष्काशन गरेको आईपीओको बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बिहान सेयर बाँडफाँड भएको हो।
कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि ४५ लाख कित्ता सेयर निष्काशन गरेको थियो। यस आईपीओमा कुल २४ लाख १३ हजार ५ सय १७ जनाबाट आवेदन परेको थियो, जसमा २३ लाख ७६ हजार ७ सय ५ जनाको आवेदन मात्र योग्य ठहरिएको छ।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो। सोही अनुसार ४ लाख ५० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदक भने सेयर पाउनबाट वञ्चित भएका छन्।
आईपीओको नतिजा केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।
नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गरेको हो।


