काठमाडौं। वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। ब्याजदर निरन्तर घट्दै गएको छ। नयाँ दरअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनको तुलनामा केही घटेको देखिएको छ।
फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा घटेर ४.४९ प्रतिशतमा झरेको छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले मात्र ब्याजदर घटाएका छन्। बाँकी १४ बैंकले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
संस्थागत मुद्दति निक्षेपतर्फ पनि सामान्य गिरावट देखिएको छ। बैंकहरूले यस निक्षेपको अधिकतम औसत ब्याजदर ०.०३ प्रतिशत बिन्दुले घटाएका छन्।
चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा नेपाल बैंक देखिएको छ। उक्त बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको हो।
यसका साथै स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि चैतका लागि ब्याजदर घटाएका छन्।
निक्षेपका साथै कर्जाको पनि ब्याजदर घटेको छ। तर, ऋणको माग बढ्न सकेको छैन्। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन ७७ खर्ब ७५ अर्ब पुगेको छ। यस्तै कर्जा लगानी ५८ खर्ब ११ अर्ब रुपैयाँ मात्र छ।
प्रणालीमा १० खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम (तरलता) रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.१९ प्रतिशत छ।
चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी सुस्त देखिएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६ प्रतिशत बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशत मात्र विस्तार भएको छ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले लचिलो मौद्रिक लिँदै चालू आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ। सात महिनाको प्रगति हेर्दा उक्त लक्ष्य भेट्न मुस्किल देखिएको छ। लक्ष्य भेट्न सात खर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट दुई खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत अर्थात दुई खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ बढेको थियो।


