काठमाडौं। चालू आर्थिक वर्षको आठ महिना प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ४० अर्ब रुपैयाँ माथि प्रतिबद्धता आएको छ। गत साउनदेखि फागुन सम्म विभिन्न ५५४ परियोजनाका लागि ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।
विभागका अनुसार फागुन महिनामा ३८ करोड ६० लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको देखिएको छ।माघसम्म ४० अर्ब २८ करोड रुपैयाँ पुगेको एफडीआई प्रतिबद्धता फागुन अन्त्यसम्म आइपुग्दा सामान्य वृद्धिसहित ४० अर्ब ६६ करोडमा मात्र सीमित रहेको छ।
यसबीचमा सबैभन्दा बढी एफडीआई प्रतिबद्धता कृषिमुलक क्षेत्रमा प्राप्त भएको विभागले जानकारी दिएको छ। कृषिका विभिन्न १४ परियोजनाका लागि २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
यस्तै पर्यटनका १५५ परियोजनामा ११ अर्ब रुपैयाँ बढी लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। पछिल्लो समय पर्यटकीय गन्तव्य र प्रमुख सहरहरुमा तारेस्तरका होटल खुल्ने क्रम बढेको छ।
आठ महिनामा वैदेशिक लगानीको प्रतिबद्धता आएका परियोजनामध्ये सबैभन्दा धेरै ३०७ वटा सूचना प्रविधि क्षेत्रका हुन्। तिनमा एक अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
सेवामूलक क्षेत्रका ३९ परियोजनामा ती अर्ब ६२ करोड रुपैयाँ, उत्पादनमूलक क्षेत्रका ३७ परियोजनामा दुई अर्ब ५२ करोड रुपैयाँ, खनिज क्षेत्रका दुई परियोजनामा ११ करोड र ऊर्जामूलक क्षेत्रको एक परियोजनामा १८ करोड ४२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
यसबीचमा वैदेशिक लगानीमा सञ्चालनमा रहेका उद्योगहरुले आठ महिनामा १६ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन्। गत वर्षको यही अवधिमा विदेशी लगानीकर्ताहरुले नौ अर्ब एक करोड रुपैयाँ बढी लाभांश फिर्ता लगेका थिए। यो वर्ष साढे सात अर्ब रुपैयाँ बढी लाभांश फिर्ता भएको विभागले जनाएको छ।
सात महिनामा विदेशी लगानीकर्तालाई लाभांशबापत १६ अर्ब २६ करोड तथा रोयल्टीबापत चार अर्ब १९ करोड रुपैयाँ फिर्ता लैजान स्वीकृति दिइएको थियो।


