काठमाडौँः आज चैत्र ८ गतेदेखि दुई वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेका छन् । आजबाट सानिगाड हाइड्रो लिमिटेड र याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुला गरेका हुन् ।
याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले आज चैत्र ८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो।
कम्पनीले स्थानीयलाई ७ लाख कित्ता सेयर निष्काशन गरेको छ । यस निष्कासनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन्।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख १० हजार कित्ता सेयर निष्कासन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २१ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्कासनमा चैत्र ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ ।
त्यस्तै सानिगाड हाइड्रो लिमिटेडले आज चैत्र ८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित बझाङ जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो।
कम्पनीले स्थानीयलाई २८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ। यस निष्काशनमा बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन्। सो नगरपालिकाको वडाहरु १ , २ र ४ अति प्रभावित स्थानीय रुपमा रहेका छन् । उनीहरुलाई कुल १८ लाख ५२ हजार कित्ता छुट्याईएको छ। सो नगरपालिकाका बाँकि वडाका स्थानीय प्रभवित क्षेत्रको रुपमा रहेका छन्, उनीहरुलाई ९ लाख ९७ हजार ५ सय कित्ता सेयर छुट्याईएको छ ।
स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन्।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।


