काठमाडौं। प्रतिनिधिसभाको निर्वाचनपछि धितोपत्र बजारमा देखिएको तीव्र उछालले लगानीकर्ताको ध्यान पुनः तानेको छ। साताको सुरुवातसँगै सेयर बजारले उल्लेखनीय वृद्धि कायम राख्दै आइतबार पनि राम्रो प्रदर्शन गरेको छ। बजारमा आएको यो उत्साहले विगतका रेकर्डहरू पुनः तोडिने सम्भावना बढेको छ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५१ अंकले वृद्धि भई २९ सय ३१.५५ बिन्दुमा पुगेको छ। यस दिन ३६४ कम्पनीका ६ करोड १४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल २३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार रकममा भएको उल्लेखनीय वृद्धिले बजारमा तरलता र लगानीकर्ताको सक्रियता दुवै बढेको संकेत गर्दछ।
बजारको यो उकालो यात्रामा विभिन्न समूहहरूले सकारात्मक योगदान दिएका छन्। विशेषगरी माइक्रोफाइनान्स समूह ४.२१ प्रतिशत बढ्दै अग्रस्थानमा रहेको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी तथा होटल–पर्यटन समूहहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।
यस दिन १८३ कम्पनीको सेयर मूल्य बढ्दा ७३ कम्पनीको घटेको र ८ कम्पनी स्थिर रहेको तथ्यांकले बजारमा समग्र रूपमा सकारात्मक प्रवृत्ति देखिएको पुष्टि गर्छ।
चुनावपछिको राजनीतिक परिवर्तनलाई बजार वृद्धिको मुख्य कारकका रूपमा हेरिएको छ। हालै सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाइ मत प्राप्त गर्दै सरकार बनाउने भएको छ। यसले राजनीतिक स्थिरताको अपेक्षा बढाएको बुझाइ लगानीकर्ताको छ। यसले लगानीकर्तामा आत्मविश्वास बढेको पनि देखिन्छ।
विगतमा अस्थिर राजनीतिक अवस्थाले बजारमा अनिश्चितता सिर्जना गरे पनि अब स्थायी सरकार गठन हुने आशाले बजारलाई थप ऊर्जा दिएको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंकद्वारा अवलम्बन गरिएको लचिलो मौद्रिक नीति र न्यून ब्याजदरले पनि सेयर बजारमा लगानीको वातावरण सहज बनाएको छ। साथै नेपाल धितोपत्र बोर्डको सक्रिय नियामकीय भूमिकाले बजारमा पारदर्शिता र विश्वास अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।
निर्वाचनपछि पहिलो कारोबार दिनमै तीन पटक ‘पोजेटिभ सर्किट ब्रेक’ लागेर बजार छोटो समयमै बन्द भएको थियो। जसले बजारको तीव्र उत्साहलाई झल्काएको थियो। पछिल्ला दिनको कारोबार अवस्था हेर्दा अब पुनः त्यस्तै अवस्था दोहोरिने संकेत देखिन थालेका छन्।
इतिहासतर्फ हेर्दा, नेप्सेले २०७८ सालमा ३१ सय ९८ अंकको उच्चतम रेकर्ड बनाएको थियो। त्यसपछि घटेर झण्डै १८ सय अंक नजिक पुगेको थियो। बजारमा आएको उतारचढाव, विशेषगरी ‘जेन्जी आन्दोलन’ र राजनीतिक अस्थिरताले बजारलाई दबाबमा राखेको थियो। तर, हालको परिस्थितिले पुनः पुराना रेकर्डहरू तोडिने सम्भावना बलियो बनाएको विश्लेषकहरू बताउँछन्।
लगानीकर्ता देव गुरागाईंका अनुसार बजारले अघिल्ला रेकर्डहरू तोड्ने आधार तयार भइसकेको छ। उनका अनुसार, राजनीतिक स्थिरता कायम रहनु र सरकारले लगानीमैत्री नीति अवलम्बन गर्नु बजार वृद्धिका प्रमुख आधार हुनेछन्। नेपाल क्लिक्ससँग कुरा गर्दै उनले भने ‘पछिल्ला सबै रेकर्ड अब तोड्नेमा म निश्चित छु।’
यद्यपि, उनले लगानीकर्तालाई सतर्क रहन पनि सुझाव दिएका छन्। किनकि बजार बढेसँगै जोखिम पनि बढ्ने गर्दछ। ‘हालसम्म लगानीगर्नेहरुको भने सुखको दिनआएका छन्,’ उनले भने ‘मलाईं त आउने सरकारले कस्ता नीतिगत कुराहरु गर्छ भनेर हेर्न उत्सुकता धेरै छ।’
नेपाल स्टक ब्रोकर संघका पूर्वअध्यक्ष तथा कोहिनुर सेक्युरिटीका सञ्चालक भरत रानाभाटले पनि बजारमा देखिएको उत्साह स्वाभाविक भए पनि लगानीकर्ताले अझ बढी सचेत भएर निर्णय लिनुपर्ने बताएका छन्। उनका अनुसार, बजार परिपक्व बन्दै गइरहेको अवस्थामा दीर्घकालीन रणनीतिमा आधारित लगानी नै सुरक्षित विकल्प हुनेछ।
समग्रमा, धितोपत्र बजारमा देखिएको हालको उछालले नयाँ आशा जगाएको छ। तर, यो उत्साहलाई दीर्घकालीन स्थायित्वमा रूपान्तरण गर्न नीतिगत निरन्तरता, पारदर्शिता र लगानीकर्ताको सचेतता अत्यावश्यक रहने देखिन्छ।


