काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिहरू सहभागी थिए।
कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल र जोखिम व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण दिए। कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरे।
कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यो कार्यक्रम अत्यन्त उपयोगी रहेको जानकारी दिँदै, बैंक र अन्य वित्तीय संस्थाहरूसँग आर्थिक तालिमका लागि सहकार्य गर्दै आएको बताए।
सांग्रिला डेभलपमेन्ट बैंक मुलुकभर १०९ शाखा र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यास गर्दै बैंकले आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


