काठमाडौं। मध्यपूर्वमा भएको युद्धका कारण कच्चा तेल आपूर्तिमा समस्या आउँदो पेट्रोलियम पदार्थको भाउ आकासिएको छ। यसको असर नेपालमा पनि परेको छ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
बुधबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको छ।
अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको निगमले जनाएको छ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ।
निगमले मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जनाएको छ।
इन्डियन आयल कर्पोरेसन(आईओसी) बाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ।
यसअघि पाँच अर्ब रुपैयाँ नोक्सानमा रहेको निगम अब नयाँ मूल्यवृद्धिपछि पनि आगामी १५ दिनमा थप १५अर्ब रुपैयाँ नोक्सान हुने निगमले जनाएको छ। विश्व बजारमा कच्चा तेलको भाउ बढेका कारण निगमले इन्डियन आयललाई भुक्तानी दिन नसक्ने अवस्था आएको दावी गरेको छ।
यद्यपि विश्व बजारमा कच्चा तेलको भाउ घट्दै गएको छ। आयल प्राइस डटकमका अनुसार कच्चा तेलको भाउ न्यूनतम् ब्यारेलको ८९ देखि १०१ डलरमा कारोबार भइरहेको छ।


