काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र बजारमा मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार तयार गरिएको यो कार्यविधिले ब्रोकर तथा लगानीकर्ताका लागि स्पष्ट मापदण्ड निर्धारण गरेको छ।
नयाँ व्यवस्था अनुसार मार्जिन कारोबार सेवा दिन चाहने धितोपत्र दलाल (ब्रोकर) को न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्नेछ। साथै, ब्रोकरले राफसाफ सदस्यता प्राप्त गरेको र धितोपत्र बोर्डबाट अनुमति लिएको हुनुपर्छ। अनुमति पाएका ब्रोकरले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अनुमति नवीकरण गर्नुपर्नेछ।
कुन कम्पनी योग्य?
मार्जिन कारोबारका लागि सबै कम्पनी योग्य हुने छैनन्। नेप्सेले तोकेअनुसार कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भएको, खुद सम्पत्ति चुक्ता पुँजी बराबर वा बढी भएको, पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेको र सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा गरेको कम्पनी मात्र योग्य हुनेछन्।
मार्जिन दरको व्यवस्था
लगानीकर्ताले मार्जिन कारोबार गर्दा खरिद रकमको न्यूनतम ३० प्रतिशत प्रारम्भिक मार्जिन राख्नुपर्नेछ। बजार उतारचढावअनुसार कम्तीमा २० प्रतिशत सम्भार (मेन्टेनेन्स) मार्जिन कायम गर्नुपर्नेछ। सेयर मूल्य घटेर तोकिएको सीमा तल झरेमा ब्रोकरले ‘मार्जिन कल’ गरी थप रकम माग्न सक्नेछन्।
लगानीकर्ता सुरक्षा र पारदर्शिता
कार्यविधिअनुसार लगानीकर्ताले छुट्टै ‘मार्जिन कारोबार खाता’ र ‘हितग्राही खाता’ खोल्नुपर्नेछ। ब्रोकरले लगानीकर्तासँग अनिवार्य सम्झौता गरी ब्याजदर, सेवा शुल्क तथा सम्भावित जोखिमबारे स्पष्ट जानकारी दिनुपर्नेछ। साथै, ब्रोकरहरूले दैनिक कारोबार प्रतिवेदन नेपाल स्टक एक्सचेन्ज मा बुझाउनुपर्नेछ।
यदि कार्यविधिको उल्लंघन भएमा नेप्सेले सम्बन्धित ब्रोकर वा लगानीकर्ताको मार्जिन सुविधा स्थगित वा खारेज गर्न सक्ने व्यवस्था गरिएको छ।
के हो मार्जिन कारोबार?
मार्जिन कारोबार भन्नाले लगानीकर्ताले आफ्नो केही रकम राखी बाँकी रकम ब्रोकरबाट ऋणका रूपमा लिएर सेयर खरिद गर्ने प्रक्रिया हो। यसले बजारमा तरलता बढाउने र लगानीका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।
नेप्सेको यो नयाँ कार्यविधिले नेपाली पुँजी बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने विश्वास गरिएको छ। यद्यपि, प्राविधिक तयारी बाँकी रहेकाले सेवा तत्काल सुरु नहुने बताइएको छ।


