नयाँ सरकार गठनपछि खुलेको सेयर बजारमा अपेक्षित उत्साह देखिएन। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७१ दशमलव ०५ अंकले घट्दै २८७९ दशमलव ११ विन्दुमा झरेको छ। यससँगै बजार पुन: २९ सय विन्दुमुनि झरेको छ।
नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक ऊर्जा आउने अपेक्षा गरिएको थियो। विशेषगरी बालेन्द्र शाह नेतृत्वको सरकार र अर्थमन्त्री स्वर्णिम वाग्ले को आगमनले निजी क्षेत्रमैत्री नीति आउने आशा गरिएको थियो। सरकारले प्रारम्भिक रूपमा सुधारमुखी कार्यसूची पनि सार्वजनिक गरिसकेको छ।
तर बजारमा त्यसको प्रभाव देखिन सकेन। यसको मुख्य कारण पछिल्ला राजनीतिक घटनाक्रमलाई मानिएको छ। केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि सुरु भएको राजनीतिक तनाव र आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनाएको देखिन्छ। सरकारले सार्वजनिक गरेको सुधारमुखी एजेन्डाले दीर्घकालीन आशा देखिएकाले धेरै लगानीकर्ता तत्काल जोखिम लिनुभन्दा केही समय परिस्थितिको अवलोकन गर्ने रणनीतिसहित पर्ख र हेरको अवस्थामा देखिएको छन्।
कुल २५५ भन्दा बढी कम्पनीको मूल्य घट्दा १० वटा कम्पनीको मात्रै मूल्य सामान्य बढेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिडी पावर कम्पनी, सूर्यकुण्ड र भुजुङ जलविद्युत् लगायत कम्पनीको सेयरमूल्य बढेको छ। युनिक नेपाल लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अभियान लघुवित्त लगायतका कम्पनीमा उल्लेख्य गिरावट देखिएको छ।
बजार खुलेदेखि नै निरन्तर नेप्से ओरालो लागेको थियो।
यद्यपि आइतबार कारोबार रकम भने बढेको छ। यस दिन ३ करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार १५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा बढी हो। यसले बजारमा बिक्री चाप उच्च रहेको संकेत गर्छ।
आइतबार कारोबार भएका सबै समूहगत सूचकहरू घटेका छन्। फाइनान्स क्षेत्र सबैभन्दा बढी ३ दशमलव ३८ प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, लगानी, व्यापारलगायतका समूहहरू पनि २ प्रतिशतभन्दा बढीले घटेका छन्।
कारोबार रकमका हिसाबले रिडी पावर कम्पनीको ७० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसपछि ङादी ग्रुप पावर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेशनल हाइड्रोपावर कम्पनीको सेयर पनि उच्च कारोबार भएको छ।


