काठमाडौँ: लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। बालश्रम शोषणको आरोपमा आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ परेकी शर्मालाई सोमबार अदालतमा उपस्थित गराइएको हो।
बयानपछि भएको थुनछेक आदेशपछि न्यायाधीश नवराज दुलालको इजलासले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ।
प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत अनुसन्धान भैरहेको छ। केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौँ महानगरपालिले उद्धार गरेको थियो।


