काठमाडौँ: रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहितको सम्मानजनक जित निकाल्यो। उक्त संख्या दुईतिहाइका लागि २ सिट मात्रै कम हो। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएदेखि नै जनतामाझ लोकप्रिय वालेन्द्र शाह गत शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भए। शाहको नेतृत्वमा नयाँ सरकार गठन हुँदादेखि नै लगानीकर्तामा उत्साह छाएको थियो।
सेयर बजारमा बालेन बुम देखिने उत्साह लगानीकर्तामा भए पनि आइतबार बजार खुल्नेबित्तिकै त्यो एकाएक निराशामा परिणत भयो। ‘नयाँ जोस र नयाँ टोली’ ले पुँजी बजारमा ऐतिहासिक सुधार गर्ने अपेक्षा गरिए पनि परिणाम भने ठीक उल्टो देखिएको छ। सरकार गठनपछिको पहिलो चार कारोबार दिनमै नेप्से परिसूचक झण्डै २०० अंकले ओरालो लागेको छ।
घट्दो सेयर बजारका कारण लगानीकर्तामा उत्साह देखिँदैन। आइतबार नेप्से परिसूचक ७१ अंकले घटेर २८७९ विन्दुमा झरेको थियो भने सोमबार पनि ४७.७१ अंकले घटेर २८२१ विन्दुमा पुगेको थियो। मंगलबार बजार सामान्य सुधारिए पनि बुधबार पुनः उच्च अंकले घटेर बन्द भएपछि लगानीकर्ताबीच चिन्ता र अनिश्चितता बढेको छ। केही लगानीकर्ताले सरकारले शासकीय सुधारका लागि १०० कार्यसूचीमा पुँजी बजारलाई कुनै पनि विषय नसमेटिनुले बजार घटेको बताइरहेका छन् भने केहीले भने बजार घट्नुलाई अवसरको रुपमा लिएका छन्।
साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा झरेको छ। आज नेप्से घटे पनि यस दिन कारोबार रकम भने सामान्य रूपमा बढेको छ। मंगलबार ११ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार १२ अर्ब १० करोड ९५ लाख २५ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनका सेयर सकारात्मक सर्किटमा कारोबार भएका हुन्।
त्यस्तै, कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनी को सेयरमूल्य यस दिन सर्वाधिक ९.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये ‘अन्य’ उपसमूहको परिसूचक सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक, वित्त र व्यापार उपसमूह ३ प्रतिशतभन्दा बढीले घटेका छन् भने बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूह २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
बजार निरन्तर घटेपछि केही लगानीकर्ताले भने अर्थमन्त्रीको राजीनामा दिन ढिला भएन भनेर सामाजिक सञ्जालमार्फत् प्रश्न एवं आलोचना पनि गरेका छन्।
बजार घट्नुका कारणबारे लगानीकर्ताहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूलाई पक्राउ गर्नुलगायतलाई पनि कारण मानेका छन्। दुईतिहाइ निकट सरकार भए पनि नयाँ र पुराना दलबीचको टकराबका कारण अहिले नै राजनीतिक स्थिरताको महसुस नगरेकाले लगानीकर्ताहरू उत्साही नदेखिएका हुन्। यस्तै बजार घट्नुको अर्को प्रमुख कारण सम्पत्ति शुद्धीकरणको मुद्दा भएको लगानीकर्ताहरू बताउँछन्।
नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनीयारका अनुसार नयाँ सरकारले सम्पत्ति शुद्धीकरणका मुद्दामा सक्रियता देखाएपछि त्यसको असर बजारमा परेको हो। उनले भने, ‘नयाँ सरकारले फोहोर सफा गर्दा उडेको धुलो बजारमा परेको हो, आत्तिनु पर्दैन, बजार पुनः सुधार हुन्छ।’
अर्का, लगानीकर्ता देव गुरागाईं पनि सम्पत्ति शुद्धीकरणको विषयमा सरकार सक्रिय हुँदा लगानीकर्तामा त्रास देखिएको बताए। उनले भने, ‘नीतिगत व्यवस्था लागू गर्दा छोटो अवधिमा बजारमा प्रभाव पर्नु स्वाभाविक हो, तर बजार पुनः लयमा फर्किन्छ।’


