काठमाडौं। चालू आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेखनीय रूपमा बढेको छ। तर, यसबीचमा कर्जा विस्तार भने अपेक्षाकृत सुस्त देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत (दुई खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ) वृद्धि भएको छ।गत वर्षको सोही अवधिमा कर्जा वृद्धि दर ६ प्रतिशत (३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ) रहेको थियो।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ। आठ महिनाको गति हेर्दा यो लक्ष्य पुरा हुने संभावना ज्यादै न्यून छ।
क्षेत्रगत रूपमा हेर्दा उपभोग्य क्षेत्रमा १०.५, निर्माण क्षेत्रमा ८.८ र औद्योगिक उत्पादन क्षेत्रमा ५.६ प्रतिशत कर्जा वृद्धि भएको छ। तर, कृषि क्षेत्रमा कर्जा २ र वित्त तथा घरजग्गा क्षेत्रमा २.७ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ।
कुल कर्जामध्ये ६२.७ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रमा र ३७.३ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा प्रवाह भएको छ।
धितोको आधारमा हेर्दा कुल कर्जामध्ये ६३.८ प्रतिशत घरजग्गा धितोमा र १५ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) मा आधारित रहेको छ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन उल्लेखनीय रूपमा बढेको छ। फागुन मसान्तसम्म निक्षेप ६.६ प्रतिशत (चार खर्ब ८२ अर्ब १ करोड रुपैयाँ) वृद्धि भएको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप ४.३ प्रतिशत (२ खर्ब ७७ अर्ब २३ करोड रुपैयाँ) मात्र बढेको थियो। वार्षिक आधारमा निक्षेप वृद्धि दर १५.१ प्रतिशत पुगेको छ।
कुल निक्षेप संरचनामा मुद्दती निक्षेपको हिस्सा ४०.१ प्रतिशत, बचत निक्षेपको ४४.१ प्रतिशत र चल्ती निक्षेपको ६.६ प्रतिशत रहेको छ। गत वर्षको तुलनामा बचत निक्षेपको अंशमा सुधार देखिएको छ।
निक्षेपमा वृद्धि भएसँगै बैंकहरूको ब्याजदरमा गिरावट आएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर गत वर्षको ४.५४ प्रतिशतबाट घटेर ३.४५ प्रतिशतमा झरेको छ। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर ८.४० प्रतिशतबाट घटेर ६.९० प्रतिशत कायम भएको छ।


