काठमाडौँ: स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ।
एसोसिएसनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो आशा राखिएको उल्लेख गरिएको छ। धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान भएमा मात्र पुँजीबजारको विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास एसोसिएसनले व्यक्त गरेको छ।
सुधारका लागि अघि सारिएका मागहरूमा पुँजीबजार सुधार कार्यदलले दिएका तर हालसम्म कार्यान्वयन हुन बाँकी सुझावहरूलाई तत्काल लागू गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीबजारमा सहज रूपमा प्रवेश र बहिर्गमनको व्यवस्था मिलाउन तथा शेयर खरिद गरेको ६ महिनापछि मात्र बिक्री गर्न पाउने हालको प्रावधान हटाउन माग गरिएको छ। साथै, गैर आवासीय नेपालीहरूलाई पनि दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने वातावरण बनाउन एसोसिएसनले सरकारसँग आग्रह गरेको छ।
कर र प्राविधिक पक्षका सम्बन्धमा, आगामी बजेटमार्फत पुँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा स्पष्ट पार्नुपर्ने र सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने माग राखिएको छ। शेयर बिक्री गरेरपनि हस्तान्तरण हुन नसक्दा लगानीकर्ता ‘क्लोज आउट’को मारमा परिरहेको भन्दै सो समस्या समाधानका लागि ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालन गर्न र वि.सं. २०७५ तथा २०७९ मा बनेका कार्यविधिहरू अनुरूप सेटलमेन्ट ग्यारेन्टी फण्डलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन नियामक निकायलाई आवश्यक निर्देशन दिन एसोसिएसनले अर्थमन्त्रीसँग जोडदार माग गरेको छ।


