काठमाडौँ: नयाँ सरकार बनेदेखि घट्दो क्रममा रहेको सेयर बजार मंगलबार पनि कारोबारसहित घटेको छ। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सेयर बजार पारदर्शी भएको बताउँदै सम्पत्ति सुद्धिकरणको छानबिन नगर्ने बताएका थिए। तर त्यसको प्रभाव बजारमा परेन।
वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका थिए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन्।
तर बजारमा सम्पत्ति सुद्धीकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको उनको भनाइ थियो। सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ति सुद्धिकरण छानबिन नगर्ने भन्दै लगानीकर्ता आत्तिनु नपर्ने वाग्लेले बताएका थिए।
अर्थमन्त्रीको उक्त अभिव्यक्तिपछि लगानीकर्ताले सेयर बजारमा त्यसको सकारात्मक असर पर्ने अपेक्षा गरे पनि मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेको छ। अघिल्लो दिन ८३ अंक बढेको बजार यसदिन सामान्य घटेर २७५७.४० विन्दुमा झरेको हो।
सुरुमै बजार २९ अंकले बढे पनि त्यसपछि उताचढावका बीच २:४८ बजे आजको सबैभन्दा तल्लो विन्दु २७४४ विन्दुमा झरेको थियो। कारोबारको अन्तिम केही समयमा बजार केही उकालियो।
यसदिन कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ९२ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ७३ करोडको मात्रै भएको हो।
कारोबारमा आएका कम्पनीहरूमध्ये १७५ कम्पनीको सेयरमूल्य घट्दा ८२ को मात्रै बढेको छ भने १२ को स्थिर छ।


