काठमाडौँ: सरकारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन गर्दै लगानी दायरालाई अझ फराकिलो बनाउने तयारी गरेको छ। अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्न विधेयको मस्यौदा तयार पारेको छ। विधेयक छलफलका लागि सार्वजनिक गरेको छ।
संघीय संसद्मा पेस गर्न लागिएको नयाँ विधेयकअनुसार अब सञ्चय कोषले आफ्नै ‘म्युचुअल फण्ड’ अर्थात् सामूहिक लगानी योजना सञ्चालन गर्न पाउनेछ।
प्रस्तावित संशोधनमा कोषलाई आफैँ वा अन्य उपयुक्त संस्थासँग मिलेर छुट्टै कम्पनी स्थापना गर्ने अधिकार दिइएको छ। सो कम्पनीमार्फत कर्मचारी तथा स्वरोजगारमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउँदै सामूहिक लगानी योजना सञ्चालन गरिनेछ। यसले सञ्चयकर्ताहरूलाई आफ्नो बचतमा थप प्रतिफल प्राप्त हुने र देशको पूँजी बजार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यससँगै, कोषलाई परम्परागत क्षेत्रभन्दा बाहिर गएर आधुनिक वित्तीय उपकरणहरूमा लगानी गर्न पनि अनुमति दिने व्यवस्था गरिएको छ। अब कोषले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्डमा लगानी गर्न सक्नेछ।
यस्तै कर्मचारीहरूका लागि सहुलियतपूर्ण आवास परियोजनाहरू निर्माण तथा सञ्चालन गर्न सक्नेछ। सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका निकायहरूसँग सहकार्य गर्दै ऊर्जा, कृषि, पर्यटन तथा ठूला पूर्वाधार परियोजनामा समेत लगानी गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ।
कोषका अनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा समेटिएका नीतिगत व्यवस्थाहरू कार्यान्वयन गर्न यो संशोधन प्रस्ताव ल्याइएको हो। लगानीको दायरा विस्तारसँगै कोषको आम्दानी वृद्धि हुने र त्यसको प्रत्यक्ष लाभ सञ्चयकर्ताहरूले पाउने विश्वास गरिएको छ। साथै, यसले समग्र अर्थतन्त्र सुदृढ बनाउने, पूँजी बजार विस्तार गर्ने र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हाल उक्त विधेयक मस्यौदा चरणमै रहेको छ। अर्थ मन्त्रालयले सरोकारवालाहरूबाट सुझाव माग गर्दै १५ दिनको समयसीमा निर्धारण गरेको छ।
सरकारले सञ्चय कोषका साथै नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको लगानी दायरा बढाउन लागेको हो। चालू आर्थिक वर्ष २०८२०८३ को बजेट वक्तव्यको बुँदा नम्बर ३३० मा सञ्चय कोष, लगानी कोष र सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था गर्ने उल्लेख छ।
सञ्चय कोषले ४५६ मेगावाटको तामाकोसी, चिलिमे जलविद्युत कम्पनीले सहायक संस्थामार्फत बनाएको २७१ मेगावाट क्षमताका चार जलविद्युत आयोजनामा ऋण लगानी गरेको छ।
यस्तै नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न ऋण दिएको छ। कोषमा झण्डै छ लाख सञ्चयकर्ता अबद्ध छन्। सञ्चय कोषलले झण्डै एक खर्ब ७० अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा राखेको छ। पछिल्लो समयमा सञ्चय कोषले जलविद्युत आयोजनामा लगानी बढाएको छ।


