काठमाडौँः दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा सोमबार ३४१ स्टकको ४ अर्ब २४ करोड २१ लाख रुपैयाँबराबरका १ करोड ३ लाख ४३ हजार कित्ता सेयर किनबेच भएका छन्।
यस दिन बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ भने चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.९२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


