काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अबदेखि आइतबारको साटो शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यस्तो व्यवस्था गरिएको हो। नेप्सेको चैत २२ गते बसेको सञ्चालक समिति बैठकले सोमबारदेखि शुक्रबारसम्म नियमित समयमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।
अब सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सरकारको निर्णयअनुसार सरकारी कार्यालयहरू भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
यसअघि २०७९ सालमा पनि यस्तै व्यवस्था लागू गरिएको थियो, जहाँ आइतबारको साटो शुक्रबार सेयर कारोबार गरिएको थियो। अहिले पनि सोही अभ्यास पुनः लागू गरिएको हो।


