काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४८.७१ अंक बढेर २८५१.२४ विन्दुमा पुगेर बन्द भएको हो।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टको १ लाख ८ हजार ८६९ पटकको कारोबारमा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.७४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


