काठमाडौँः नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) एकैदिन १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीमा कायम अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको हो।
पछिल्लो समय आर्थिक गतिविधि सुस्त रहँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन।
बैंकहरूले तत्काल कर्जा माग बढ्ने सम्भावना न्यून देखेपछि निक्षेप वृद्धि गर्न रुचि नदेखाउँदै ब्याजदर घटाउने नीति अपनाइरहेका छन्। यसले मुद्दती निक्षेपलाई समेत निरुत्साहित बनाएको देखिएको छ। हाल कुल बैंकिङ निक्षेप ७८ खर्ब रुपैयाँभन्दा माथि पुगेको राष्ट्र बैंकले जनाएको छ।
तरलता नियन्त्रण तथा ब्याजदर स्थिरता कायम गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
बोलकबोल प्रक्रियामा सहभागी संस्थाहरूले प्रस्ताव गर्ने ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गरिनेछ। अनलाइन प्रणालीमार्फत हुने उक्त बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि माथि बोल गर्न पाइनेछ भने कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।
राष्ट्र बैंकका अनुसार, यसपटक संकलन गरिने निक्षेपको सावाँ र ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ।


