काठमाडौं। पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.६ प्रतिशत बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल निक्षेप चार खर्ब ८२ अर्ब १ करोड रुपैयाँ बढेर ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ। यसले बैंकिङ प्रणालीमा तरलता बढी भएको देखाउछ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुनु र कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर एकल अंकमा आएको छ। ब्याजदर एकल अंकमा आउँदा पनि निजी क्षेत्रबाट पर्याप्त कर्जाको माग हुन सकेको छैन्।निक्षेपको ३.४५ प्रतिशत र कर्जाको ६.६९ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि दर ४.३ प्रतिशत मात्रै रहेको थियो। यस वर्षको तुलनात्मक रूपमा उच्च वृद्धि दरले वित्तीय प्रणालीप्रति सर्वसाधारण तथा संस्थागत निक्षेपकर्ताको विश्वास बढ्दै गएको देखिन्छ।
वार्षिक बिन्दुगत आधारमा हेर्दा, फागुन मसान्तमा निक्षेप १५.१ प्रतिशतले वृद्धि भएको छ, जुन उल्लेखनीय प्रगति हो।
निक्षेपको संरचनामा समेत परिवर्तन देखिएको छ। चालू खातामा रहेको निक्षेप ६.६ प्रतिशत पुगेको छ भने बचत निक्षेपको हिस्सा ४४.१ प्रतिशत कायम भएको छ।
यस्तै, मुद्दती निक्षेपको अंश ४०.१ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने मुद्दती निक्षेपको हिस्सा उच्च ५१.७ प्रतिशत रहेको थियो, जसले अहिले बचततर्फ झुकाव बढेको संकेत गर्छ।
त्यसैगरी, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश घट्दो क्रममा देखिएको छ। चालू आर्थिक वर्षको फागुन मसान्तमा यस्तो अंश ३४३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ३५.४ प्रतिशत थियो।
बैंकहरुबाट कर्जा प्रवाह नहुँदा तरलता बढी रहेको छ। हाल बैंकिङ प्रणालीमा ९ खर्ब भन्दा बढी तरलता थुप्रियको छ। तरलता बढी भएपछि राष्ट्र बैंकले विभिन्न पक्रियाबाट तरलता प्रशोचन गरिरहेको छ।
राष्ट्र बैंकले शुक्रबार (आज) एकैदिन एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन वित्तीय औजारबाट तरलता प्रशोचन गरेको छ। वित्तीय प्रणालीमा कायम अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम खिचेको हो।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले कर्जा विस्तार १२ प्रतिशत हुने अनुमान गरेको छ। फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत मात्र बढेको छ। आठ महिनामा दुई खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ मात्र कर्जा बढेको छ।गत वर्षको सोही अवधिमा कर्जा वृद्धि दर ६ प्रतिशत अर्थात तीन खर्ब चार अर्ब ८२ करोड रुपैयाँ थियो।


