काठमाडौं। तीन लघुवित्त संस्था एकआपसमा समाहित (मर्ज) हुने भएका छन्। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्।
तीनवटै संस्थाले आपसी समझदारीमा मर्जर प्रक्रिया अघि बढाउने निर्णय गर्दै शनिबार औपचारिक सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका हुन्।
यसअघि चैत १४ गते जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मात्रै मर्जरका लागि सहमति भएको थियो। अहिले भने उक्त प्रक्रियामा मानुषी लघुवित्त पनि समेटिँदै त्रिपक्षीय सम्झौता भएको हो। जसले मर्जरलाई थप व्यापक बनाएको छ।
तीनै संस्थाका केन्द्रीय कार्यालय फरक–फरक जिल्लामा रहेका छन्। जीवन विकास लघुवित्तको मुख्य कार्यालय मोरङको कटहरीमा, युनिक नेपालको बाँकेको कोहलपुरमा तथा मानुषी लघुवित्तको काभ्रेपलाञ्चोकमा रहेको छ।
पूँजी संरचनातर्फ हेर्दा जीवन विकास लघुवित्त सबैभन्दा ठूलो रहेको छ। जसको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ। युनिक नेपाल लघुवित्तको पूँजी १४ करोड ८५ लाख र मानुषी लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ रहेको छ।पुँजी आकार ठूलो बनाउन तीन संस्था मर्जमा जान लागेका हुन्।


