काठमाडौँः नयाँ वर्ष २०८३ को सुरुवातसँगै नेपालको पुँजीबजारमा उल्लेखनीय नीतिगत तथा संरचनात्मक परिवर्तन लागू हुने भएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजारलाई थप आधुनिक, पारदर्शी र लगानीकर्तामैत्री बनाउने उद्देश्यले पाँच प्रमुख नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको हो। यसका लागि ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा आवश्यक संशोधन भइसकेको छ र नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति प्राप्त भइसकेको छ। अब नेप्से सञ्चालक समितिको बैठकले निर्णय गरेसँगै यी व्यवस्था व्यवहारमा आउनेछन्।
सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्ये एक ‘आफ्टर मार्केट अर्डर’ प्रणालीको सुरुवात हो। अब लगानीकर्ताले नियमित कारोबार समय (११ बजेदेखि ३ बजेसम्म) बाहेक पनि खरिद–बिक्रीका अर्डर राख्न सक्नेछन्। यसले विशेषगरी विदेशमा रहेका नेपाली लगानीकर्ताहरूलाई ठूलो सुविधा प्रदान गर्नेछ, किनकि समय क्षेत्र (टाइम जोन) को फरकका कारण उनीहरू नियमित समयमा कारोबार गर्न असहज महसुस गर्थे। नयाँ व्यवस्थाले उनीहरूलाई आफ्नो अनुकूल समयमा बजारमा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, सेयर मूल्यको दैनिक उतारचढाव सीमामा पनि महत्त्वपूर्ण परिवर्तन गरिएको छ। हालसम्म १० प्रतिशतको सीमा रहेकोमा अब यसलाई बढाएर १५ प्रतिशत बनाइएको छ। यसले बजारमा मूल्य निर्धारण प्रक्रियालाई थप लचिलो र गतिशील बनाउने विश्वास गरिएको छ। बजारमा माग र आपूर्तिको आधारमा मूल्य छिटो समायोजन हुन सक्ने भएकाले लगानीकर्ताले अवसर र जोखिम दुवै पक्षलाई ध्यान दिनुपर्ने हुन्छ।
कारोबारका क्रममा प्रति अर्डर मूल्य परिवर्तनको सीमा पनि २ प्रतिशतबाट बढाएर ३ प्रतिशत बनाइएको छ। यसले कारोबारलाई क्रमिक रूपमा अघि बढाउन सहयोग गर्नेछ र मूल्यमा अनावश्यक कठोरता कम गर्नेछ। त्यस्तै, बिहानको प्रि–ओपन सेसन (१०ः३० देखि १०ः४५) मा मूल्य उतारचढावको सीमा २ प्रतिशतबाट बढाएर ५ प्रतिशत बनाइएको छ, जसले बजार खुल्नुअघि नै वास्तविक मूल्य निर्धारणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सर्किट ब्रेक प्रणालीमा पनि सुधार गरिएको छ। अब बजारमा दुई तहको सर्किट प्रणाली लागू हुनेछ। यदि बजार ५ प्रतिशतले घटबढ भएमा पहिलो सर्किट ब्रेक लागेर १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ। त्यस्तै, बजार ८ प्रतिशतले परिवर्तन भएमा सो दिनको लागि सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि रहेको ४, ५ र ६ प्रतिशतको चरणगत प्रणालीलाई प्रतिस्थापन गर्दै यो नयाँ व्यवस्था ल्याइएको हो, जसले बजारलाई अनावश्यक उतारचढावबाट जोगाउन मद्दत पु¥याउनेछ।
यी सबै परिवर्तनहरूले नेपालको सेयर बजारलाई नयाँ चरणमा प्रवेश गराउने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यसले बजारलाई अझ पारदर्शी, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसँग नजिक बनाउनेछ। साथै, विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ताको सहभागिता पनि बढ्न सक्ने विश्वास गरिएको छ।
तर, यस्ता सुधारसँगै जोखिम पनि बढ्न सक्ने भएकाले लगानीकर्ताहरू सचेत रहन आवश्यक छ। बजारको तीव्र उतारचढावले छोटो अवधिमा लाभ दिलाउन सक्ने भए पनि हानीको सम्भावना पनि उत्तिकै रहन्छ। त्यसैले लगानीकर्ताले सूचनामा आधारित निर्णय लिनु, जोखिम व्यवस्थापन गर्नु र बजारको व्यवहार बुझ्नु अत्यन्त आवश्यक हुनेछ।


