काठमाडौँः विसं २०८३ को पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । २०८२ सालको सुरुवातमा उत्साह देखिए पनि त्यो टिक्न सकेन, र वर्षको अन्त्यसम्म आइपुग्दा नेप्से परिसूचक दबाबमै रहेको थियो । यस वर्षको सुरुवातमा पनि बजारमा उत्साह देखिन्छ ।
अघिल्लो कारोबार दिन अर्थात गत वर्षको अन्तिम कारोबार दिन (सोमबार) सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। बुधबार नेप्से परिसूचक ३३.२७ अंक बढेर २८६६.८७ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत सोमबार ८ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस दिन १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँबराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र सुपर खुदी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


