काठमाडौं। एनआईसी एसिया बैंकले ठूलो संख्यामा शाखा कार्यालय समायोजन (मर्ज) गरेको छ। बैंकले ४४ शाखा बन्द गरेको छ। बैंकले चार वटा प्रदेशका शाखा एकैपटक समायोजन गरेको हो। जसमा काठमाडौं उपत्यकाका मात्रै ३२ शाखा समेटिएका छन्।
यो निर्णय आजदेखि लागू भएको बैंकले जनाएको छ। समायोजित शाखाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने ग्राहकलाई नजिकका अन्य सञ्चालनमा रहेका शाखामार्फत सेवा प्रदान गरिनेछ।
काठमाडौंका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, माछापोखरी, न्यूरोड, भोटाहिटी, चाबहिल, अनामनगर, कपन, गोंगबु, टेकु, सिनामंगल, मित्रपार्क, कालोपुल लगायत क्षेत्रका शाखा बन्द भएका छन्।
यसैगरी ललितपुरका लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को, खुमलटार, खोकना र चितवन को बसेनी शाखा पनि गाभिएका छन्। कास्कीका महेन्द्रपुल, बगर, बिरौटा लगायत, मोरङका विराटनगर क्षेत्र तथा पर्सा का केही शाखा पनि समायोजनमा परेका छन्।
यसरी बैंकले विभिन्न जिल्लामा रहेका शाखा घटाउँदै सञ्चालन संरचना पुनर्संरचना गरेको हो।


