काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा यस साता सेयर बजारमा उतारचढावपूर्ण कारोबार देखिएको छ। नयाँ वर्षको सार्वजनिक बिदा र नीतिगत परिवर्तनको प्रभावबीच बजार चार दिन मात्रै सञ्चालन भयो। यसबीचमा भने लगानीकर्तामा मिश्रित मनोविज्ञान देखियो।
सरकारी क्यालेन्डरअनुसार मंगलबार नयाँ वर्षका कारण सार्वजनिक बिदा परेकोले बजार सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी चार दिन मात्रै खुला रह्यो। साताको सुरुवात सामान्य गिरावटबाट भए पनि बीचमा सुधार देखिएको बजार अन्त्यतिर पुनः दबाबमा परेको थियो।
सुरुवातमै गिरावट, बीचमा सुधार
साताको पहिलो कारोबार दिन सोमबार, २०८२ सालको अन्तिम दिन, नेप्से सूचक ४.१८ अंक घटेर २८ सय ३३ विन्दुमा झर्यो। यस दिन १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको थियो। कुल २ करोड १ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर ८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको थियो।
मंगलबार बिदापछि खुलेको बजारमा भने उत्साह देखियो। बुधबार नेप्से परिसूचक ३३.२७ अंकले उकालो लाग्दै २८ सय ६६.८७ विन्दुमा पुग्यो।
यस दिन सबै १३ उपसमूह हरियालीमा रहे भने होटल तथा पर्यटन समूह सर्वाधिक ३.१६ प्रतिशतले बढ्यो। २२१ कम्पनीको सेयर मूल्य बढ्दा मात्र ४५ कम्पनीको घटेको थियो। कारोबार रकम पनि साढे १० अर्ब रुपैयाँ नाघ्यो।
पुनः दबाब र अन्त्यमा सामान्य सुधार
बिहीबार बजारमा पुनः गिरावट आयो। नेप्से ३३.८३ अंकले घटेर पुनः २८ सय ३३ विन्दुमा झर्यो। यस दिन २३६ कम्पनीको सेयर मूल्य घट्दा मात्र ३१ कम्पनीको बढेको थियो। कुल ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो।
साताको अन्तिम दिन शुक्रबार भने बजार सामान्य सुधारतर्फ देखियो। नेप्से ५.३६ अंकले बढ्दै २८ सय ३८.४० विन्दुमा बन्द भयो। यस दिन ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। लगानीकर्ताले सावधानीपूर्वक कारोबार गरेका देखिन्छन्।
बुक बिल्डिङमार्फत आईपीओ प्रक्रिया अघि
यसै साता नेप्से र पाँच कम्पनीबीच बुक बिल्डिङ विधिबाट सेयर निष्काशनसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्दी बोलपत्र व्यवस्थापन गर्न सम्झौता गरिएको हो।
सम्झौतामा सहभागी कम्पनीहरूमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल्स र पूर्वाञ्चल ल्युब आयल रहेका छन्।
यी कम्पनीहरूले संस्थागत लगानीकर्ताका लागि छुट्याएको सेयरमध्ये नर्भिकले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बाले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टिल्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता सेयर बिक्री गर्नेछन्।
तीन कम्पनीलाई आईपीओ अनुमति
यसै साता नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। अनुमति पाउने कम्पनीहरूमा एभरेष्ट कलर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज रहेका छन्।
एभरेष्ट कलरले ७ लाख ९० हजार कित्ता, माउन्ट एभरेष्ट पावरले २५ लाख ८० हजार कित्ता र सर्वोत्तम पेन्ट्सले ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछन्। यी सबै सेयर १०० रुपैयाँ अंकित दरमा जारी हुनेछन्।
सोपान फर्मास्यूटिकल्सको आईपीओ खुला
सोपान फर्मास्यूटिकल्स लिमिटेडले यसै साता सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको बिक्रीपछि कम्पनीले दोस्रो चरणमा ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो।
कालिन्चोक हाइड्रोपावरको बाँडफाँडको तयारी
कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट वैशाख ७ गते गर्ने तयारी गरिएको छ। आरबीबी मर्चेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा २७ लाख ४९ हजारभन्दा बढी आवेदन परेको छ।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुने छ। जसअनुसार ६८ हजार ४७५ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने अधिकांश आवेदक खाली हात फर्किनेछन्।
समग्रमा यस साता नेप्सेमा उतारचढाव देखिए पनि बजार स्थिर दायरामै सीमित रह्यो। बुक बिल्डिङमार्फत आईपीओ प्रक्रिया अघि बढ्नु, नयाँ कम्पनीहरूलाई अनुमति मिल्नु तथा प्राथमिक सेयर निष्काशनको गतिविधि बढ्नुले आगामी दिनमा बजार थप चलायमान बन्ने संकेत देखिएको छ।
सेबोन अध्यक्ष श्रेष्ठको राजीनामा
नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शुक्रबार साँझ राजीनामा दिएका छन्। अध्यक्ष श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएर बाहिरिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारलाई सहयोग गर्न स्वेच्छाले राजीनमा गरेका बताएका छन्।
श्रेष्ठलाई सरकारले २०८१ मंसिर १० मा बोर्डको अध्यक्ष बनाएको हो। श्रेष्ठ आउनुअघि ११ महिना बोर्ड नेतृत्वविहीन हुँदा सेयर बजारका धेरै काम रोकिएका थिए। अब केही समय सेयर बजार गतिविधि सुस्त हुने संभावना देखिएको छ।


