काठमाडौँः कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा उल्लेखनीय नाफा आर्जन गरेको छ। बैंकले यस अवधिमा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशतले बढी हो। गत वर्ष यही समयमा बैंकको नाफा ४९ करोड ३१ लाख रुपैयाँ रहेको थियो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशतले बढेको छ। समग्र सञ्चालन आम्दानी पनि ८.४४ प्रतिशतले वृद्धि भएको देखिन्छ।
यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा पुगेको छ। निष्क्रिय कर्जा अनुपात ४.४ प्रतिशतमा पुगेको छ। यद्यपि, वितरणयोग्य मुनाफा भने १६.४६ प्रतिशतले घटेको छ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी घटेर १४ रुपैयाँ ४२ पैसा कायम भएको छ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ। यस अवधिसम्म बैंकले ६४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ र ५३ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


