काठमाडौँ: एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँका ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
पहिलो चरणमा १० प्रतिशत अर्थात् ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन हुने उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि वैशाख २२ गतेसम्म रहनेछ, माग नपरेमा वैशाख ३० गतेसम्म लम्बिन सक्नेछ।
आईपीओको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आवेदन मेरो सेयर प्रणाली तथा आस्बा सदस्य बैंकमार्फत दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ्गस् नेपाल ले ‘केयरएनपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम जनाउँछ।
भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कारखाना चितवनको खैरहनीमा सञ्चालनमा छ।
हालसम्म १४ वर्षदेखि पेन्ट उत्पादन गर्दै आएको कम्पनी चालू आर्थिक वर्षको पुस मसान्तसम्म ९० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ।


