काठमाडौँ: माछापुच्छ्रे बैंक लिमिटेडले सूचना प्रविधि (आईटी) क्षेत्रका व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ।
डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यस योजनामार्फत आईटी तथा सफ्टवेयर क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार विकास र सञ्चालन विस्तारका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजनाले नेपालमा तीव्र गतिमा विकास हुँदै गएको सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
कर्जा योजना अन्तर्गत सम्बन्धित सरकारी निकायमा दर्ता भएका आईटी/सफ्टवेयर फर्म (एकल वा साझेदारी) तथा प्राइभेट लिमिटेड कम्पनीहरू मात्र योग्य हुनेछन्। यस्ता कम्पनीहरूले प्यान, भ्याटलगायत कर नियमित रूपमा तिरेको हुनुपर्नेछ भने कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने प्रावधान राखिएको छ।
साथै, सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेशिन लर्निङ जस्ता क्षेत्रमा क्रियाशील कम्पनीहरू यस योजनाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ।


