काठमाडौँः सानिमा बैंक चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा खुद नाफामा उल्लेखनीय वृद्धि देखिएको छ।
बैंकले तेस्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब ६५ करोडको तुलनामा ४२.२२ प्रतिशतले बढी हो।
यसैगरी, बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोडबाट बढेर ५ अर्ब १६ करोड पुगेको छ। कुल सञ्चालन आम्दानी पनि ६ अर्ब ४ करोडबाट वृद्धि भई ७ अर्ब २७ करोड पुगेको छ भने सञ्चालन नाफा २ अर्ब २५ करोडबाट बढेर ३ अर्ब ३२ करोड पुगेको छ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब १४ करोड रहेको छ र प्रति सेयर वितरणयोग्य नाफा १८ रुपैयाँ ५७ पैसा रहेको छ। त्यस्तै, प्रति सेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा र प्रति सेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा कायम भएको छ। रिजर्भ भने ७ अर्ब ३४ करोडबाट बढेर ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ।
बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ३६ करोड रुपैयाँ छुट्टाएको छ । खराब कर्जा अनुपात भने ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत पुगेको छ ।


