काठमाडौँ: नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भंग गरी कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपको खण्डन गरेको छ।
वैशाख ९ गते कान्तिपुर दैनिकमा ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ समाचार प्रकाशित भएपछि नबिल बैंकले ग्राहकको गोपनीयता चुहावट गरेको भनी आरोप लागेको थियो।
तर उक्त समाचारमा ‘अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण’ भनेर उल्लेख गरिएको बैंकले स्मरण गराएको छ। ग्राहकको सूचना ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रियाअनुसार माग गर्ने नियामकीय तथा अनुसन्धानकारी निकायबाहेक अन्य कुनै पक्षलाई ग्राहकको सूचना उपलब्ध नगराइएको बैंकको भनाइ छ।
‘बैंक सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट रूपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रूपमा अभिलेखित रहन्छ।’
पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत आधारहीन र प्रमाणविहीन प्रचार भइरहेको भन्दै बैंकले यस्ता भ्रामक सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास भइरहेको देखिएको बताएको छ।
बैंकले आफूमाथि लगाइएका आरोपहरू पूर्ण रूपमा गलत, भ्रामक र आधारहीन रहेको दोहोर्याउँदै चार दशकभन्दा बढीको आफ्नो विश्वसनीय इतिहासलाई ध्यानमा राख्न आग्रह गरेको छ। साथै, बैंकिङ गोपनीयता कायम राख्नु आफ्नो आधारभूत दायित्व भएको उल्लेख गर्दै उच्चतम मापदण्डअनुसार सेवा प्रदान गर्दै आएको जनाएको छ।
दुष्प्रचारमा संलग्न व्यक्ति तथा निकायलाई तथ्यहीन सामग्री नफैलाउन चेतावनी दिँदै बैंकले आवश्यक परे विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।


