काठमाडौँः ज्योति विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्यांक अनुसार बैंकले गत वर्षको तुलनामा यस वर्ष नाफामा उल्लेख्य वृद्धि गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड ६६ लाख रुपैयाँको तुलनामा १०५ प्रतिशतभन्दा बढी हो।
बैंकको आम्दानीतर्फ हेर्दा, खुद ब्याज आम्दानी सामान्य रूपमा ०.७८ प्रतिशतले मात्र बढेको देखिए पनि कुल सञ्चालन आम्दानी भने ५५.३६ प्रतिशत उकालो लागेको छ।
यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेर ७.८३ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्ष ४.९८ प्रतिशत मात्र थियो। यो पक्षले बैंकको कर्जा गुणस्तरमा केही चुनौती देखाएको छ।
त्यसैगरी, बैंकको वितरणयोग्य नाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले सेयरधनीलाई लाभांश वितरणमा असर पार्न सक्ने देखिन्छ।
नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १९ रुपैयाँ ४३ पैसा पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँ ७९ पैसा हो। बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा कायम रहेको छ।
हाल ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ संचित गरेको छ। चैत मसान्तसम्म बैंकले ६४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


