काठमाडौँः नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सामान्य सुधार देखाएको छ। बैंकले चैत मसान्तसम्म दुई अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको दुई अर्ब ७८ करोड ३९ लाख रुपैयाँको तुलनामा झण्डै ९० लाख रुपैयाँ बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर सात अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष सात अर्ब १० करोड रुपैयाँ थियो। यससँगै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६८ करोड ४३ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी आठ अर्ब ७७ करोड रुपैयाँ नाघ्दा सञ्चालन नाफा चार अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य नाफा पनि वृद्धि भई ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ३० करोड ६२ लाख रुपैयाँ थियो। खराब कर्जा घटेर ४.९६ प्रतिशतमा झरेको छ। जसले कर्जा व्यवस्थापनमा सुधार भएको संकेत गर्दछ। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २५.३४ रुपैयाँ पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा २५ अर्ब रुपैयाँ भन्दा बढी सञ्चित रहेको छ।


