काठमाडौँ: नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य रूपमा २ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। सार्वजनिक गरिएको अपरिस्कृत वित्तीय विवरणले देखाएअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा वृद्धिदर भने सामान्य रहँदै करिब ०.३४ प्रतिशतमा सीमित भएको छ।
गत आर्थिक वर्षको यही अवधिसम्म बैंकले २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो।
वितरणयोग्य नाफा पनि बढेको छ। समीक्षा अवधिसम्म यस्तो नाफा झण्डै ५ प्रतिशतले बढेर ३२ करोड १३ लाख रुपैयाँ नाघेको छ। इम्पेयरमेन्ट चार्ज अन्तर्गत करिब ३९ करोड १० लाख रुपैयाँ फिर्ता आएपछि सञ्चालन नाफामा उल्लेख्य सुधार देखिएको हो।
यसका कारण सञ्चालन नाफा १२ प्रतिशतभन्दा बढीले उक्लिँदै ४ अर्ब ८५ करोड रुपैयाँभन्दा माथि पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ३१ करोड रुपैयाँको हाराहारीमा थियो।
बैंकको वित्तीय आधार पनि सुदृढ देखिएको छ। हाल चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २५ अर्ब ३९ करोड रुपैयाँभन्दा माथि पुगेको छ। निक्षेप संकलनतर्फ बैंकले करिब १६ प्रतिशतको वृद्धि हासिल गर्दै ३ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढी संकलन गरेको छ। त्यस्तै, कर्जा विस्तार पनि करिब ९ प्रतिशतले बढ्दै २ खर्ब ३९ अर्ब रुपैयाँ नाघेको छ।
साथै, सम्पत्ति गुणस्तरमा सुधारको संकेत देखिएको छ। निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ। प्रति सेयर आम्दानी २५ रुपैयाँ ३४ पैसा कायम रहँदा प्रति सेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा पुगेको बैंकले जनाएको छ।


