काठमाडौँः चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले नाफा बढाएका छन्। चैत मसान्तसम्म वाणिज्य बैंकहरुको औसत नाफा १९.३० प्रतिशतले बढेको हो।
नौ महिनामा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेका छन्। गत वर्षको नौ महिनामा बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । बैंकको नाफा झण्डै आठ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
सबैभन्दा बढी नाफा कमाउने बैंकको नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ। बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै शीर्ष स्थान ओगटेको हो गरेको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३३.९२ प्रतिशतले बढी हो।
नाफा वृद्धिदरका आधारमा भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। गत वर्षको सोही अवधिमा २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ। जसले १३६१.७६ प्रतिशतको उल्लेखनीय वृद्धि देखाउँछ। यसलाई बैंकको व्यवसाय विस्तार र खराब कर्जा व्यवस्थापनमा सुधारसँग जोडेर हेरिएको छ।
रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने बैंकहरूमा नबिल बैंकपछि ग्लोबल आइएमई बैंकको ४ अर्ब ४० करोड रुपैयाँ र कुमारी बैंक ४ अर्ब १७ करोड रुपैयाँ रहेका छन्।
त्यस्तै, सबैभन्दा कम नाफा कमाउने बैंकहरूमा एनआईसी एशिया बैंक १४ करोड रुपैयाँ, प्रभु बैंक ८५ करोड रुपैयाँ र सिटिजन्स बैंक १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।
नाफा वृद्धिदरका हिसाबले कुमारी बैंकपछि राष्ट्रिय वाणिज्य बैंकले १२९.३४ प्रतिशत गरेको छ। तर, केही बैंकहरूको नाफामा गिरावट पनि देखिएको छ। प्रभु बैंकको नाफा ५४.६१ प्रतिशत घट्दा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३०.६९, कृषि विकास बैंकको २४.४२ र एनआईसी एशिया बैंकको १०.४९ प्रतिशत घटेको छ ।


