काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत हुने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालले मंगलबार वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। गत आर्थिक वर्षमा आर्थिक वृद्धि ४.४३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को आकार बढेर ६६ खर्ब रुपैयाँ पुगेको छ। गत वर्ष ६१ खर्ब ९९ अर्ब रुपैयाँ थियो। एक वर्षको बीचमा जीडीपी आकार चार खर्ब रुपैयाँ बढेको हो। आर्थिक वर्ष ०८०/०८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको कार्यालयले जनाएको छ।
कृषि क्षेत्रको वृद्धि १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धि ४.५४ प्रतिशत हुने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। लक्ष्यको आधा मात्र हासिल हुने तथ्यांक कार्यलयको अनुमान छ।
आर्थिक वर्ष २०८१/०८२ मा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ४.१२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.१० प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.४९ प्रतिशत कायम भएको छ।
सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यासमा भएको छ। यस क्षेत्रमा २०.९३ प्रतिशत भएको प्रारम्भिक अनुमान छ। यस क्षेत्रलाई वित्तीय तथा बीमाले पछ्याएको छ।
वित्तीय तथा बीमाको ९.१६ प्रतिशत वृद्धि भएको छ। अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा सुरक्षा ०.२३ र शिक्षाको १.५ वृद्धि तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ।
कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्र २४.०३ र व्यापार क्षेत्रको १४.०९ प्रतिशत तुलनात्मक रूपमा धेरै योगदान गर्ने अनुमान गरिएको छ।नयाँ आयोजनाबाट विद्युत् उत्पादन भई विद्युत् उत्पादनको क्षमता वृद्धि हुनु, प्रसारण संरचनाको विस्तार हुनुका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ।
अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन ०.४० र खानी तथा उत्खनन् ०.४३ प्रतिशत तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेको अनुमान गरिएको छ।


