काठमाडौँः चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ( साउनदेखि चैतसम्म) वाणिज्य बैंकहरूको वित्तीय अवस्था सुधारिँदै जाँदा सरकारको कर संकलनमा पनि सकारात्मक प्रभाव देखिएको छ।
बैंकहरूको खुदनाफा बढेसँगै सरकारले आयकर पनि वृद्धि भएको छ। तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूबाट संकलित आयकर २९.१२ प्रतिशतले बढेको छ।
चालू आर्थिक वर्ष २०८२–०८३को तेस्रो त्रैमाससम्म २० वटा वाणिज्य बैंकहरूबाट सरकारलाई १६ अर्ब १८ करोड रुपैयाँभन्दा बढी आयकर बुझाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १२ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ थियो।
नेपालको कर संरचनाअनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था छ। यही कर संरचनाअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै आयकर तिर्ने बैंकका रूपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको थियो। उक्त बैंकले एक आर्थिक वर्षमा तीन अर्ब २७ करोड रुपैयाँभन्दा बढी कर दाखिला गरेको थियो।
चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांक हेर्दा बैंकहरूबीच कर योगदानमा ठूलो भिन्नता देखिन्छ। नबिल बैंकले सबैभन्दा धेरै करिब दुई अर्ब ८२ करोड रुपैयाँ आयकर तिरेको छ। अघिल्लो वर्षको सोहि अबधिमा बैंकले दुई अर्ब ७ करोड रुपैयाँ आयकर तिरेको थियो। नौ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैैक नबिल भएको छ।
वाणिज्य बैंकहरुको नाफा बढेर पुग्यो सवा ४९ अर्ब, नबिल अगाडि हुँदा धेरै बढाउनेमा कुमारी
गत वर्षको तुलनामा यसको कर योगदान ३५.६६ प्रतिशतले बढेको हो, जसको प्रमुख कारण खुद नाफामा आएको वृद्धि हो। ग्लोबल आइएमई बैंकले दुई अर्ब ३९ करोड रुपैयाँ आयकर तिरेको छ। यो गत वर्षको तुलनामा २७.०६ प्रतिशत बढी हो। गत वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ८८ करोड रुपैयाँबराबर आयकर तिरेको थियो।
त्यसैगरी कुमारी बैंकले दुई अर्ब २५ करोड आयकर तिरेको छ। यो गत वर्षको सोहि अवधिको तुलनामा ३८३.१८ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रेमाससम्ममा कुमारी बैंकले ४६ करोड ७५ लाख रुपैयाँ आयकर तिरेको थियो। नाफामा आएको असाधारण वृद्धिले कुमारी बैंकलाई यस वर्ष कर योगदान सुधार गर्ने बैंकको सूचीमा अग्रस्थानमा पुर्याएको छ।
एभरेष्ट बैंकले एक अर्ब ७५ करोड रुपैयाँ आयकर तिरेको छ। जुन गत वर्षभन्दा ३.२९ प्रतिशतले कम हो। गत वर्षको सोहि अवधिमा बैंकले एक अर्ब ६२ करोड भन्दा बढी आयकर तिरेको थियो। साथै, प्रभु बैंक, स्टान्डर्ड चाटर्ड बैंक र हिमालयन बैंकको कर योगदान भने उल्लेख्य रूपमा घटेको देखिन्छ।
त्यसैगरी सिद्धार्थ बैंकले कर योगदान ७२ करोडबाटबाट २३.८९ प्रतिशतले बढाएर ८९ करोड रुपैयाँ पुर्याएको छ।
राष्ट्रिय वाणिज्य बैंकको कर योगदान १२९ प्रतिशत बढेर एक अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यअघिल्लो वर्ष ५१ करोड रुपैयाँ थियो। तेस्रो त्रैमाससम्म सानिमा बैंकले ९५ करोड ४६ लाख, प्राइम कमर्सियल बैंक एक अर्ब ७१ करोड र माछापुच्छ्रे बैंकले ७१ करोड ७८ लाख रुपैयाँ आयकर तिरेका छन्। यी बैंकको कर योगदान पनि नाफा वृद्धिसँगै बढ्दो क्रममा देखिएको छ।
यसविपरीत हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकको आयकर भने घटेको छ। यी बैंकहरूको नाफा तथा ब्याज आम्दानी कमजोर हुँदा कर दायित्व पनि घटेको हो। नेपाल एसबीआई बैंकले भने ६२ करोड ६४ लाख रुपैयाँ आयकर तिरेको छ। बैंकले गत वर्षको सोहि अवधिमा एसबीआईले ६० करोड १५ लाख रुपैयाँ आयकर तिरेको थियो।
त्यस्तै, एनएमबी बैंकले तेस्रो त्रैमाससम्म एक अर्ब १२ करोड रुपैयाँ आयकर तिरेको छ। गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ५ करोड रुपैयाँ कर तिरेको थियो। त्यस्तै, एनआइसी एशिया बैंकले तेस्रो त्रैमाससम्ममा २४ करोड ४४ लाख आयकर तिरेको छ। यो गत वर्षको तुलनामा २६० प्रतिशत बढी हो। गत वर्षको साहिअवधिमा बैंकले ६ करोड ७८ लाख मात्र आयकर तिरेको थियो।
वित्त विज्ञहरूका अनुसार बैंकहरूको कर योगदान सिधै उनीहरूको नाफा, ब्याज आम्दानी, कर्जा गुणस्तर र सञ्चालन खर्चसँग जोडिएको हुन्छ। चालू वर्षमा केही बैंकले आक्रामक सुधार गरे पनि केही बैंक अझै दबाबमा रहेको देखिन्छ।
तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १९.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब १२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका थिए।
समग्रमा, वाणिज्य बैंकहरूको प्रदर्शन सुधारिँदै जाँदा सरकारी राजस्वमा सकारात्मक योगदान देखिनु अर्थतन्त्रका लागि उत्साहजनक संकेत मानिएको छ।


