काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबारमा खरिद आदेश प्रविष्ट गर्दा धितोपत्र कारोबार सञ्चालन विनियमावलीको कडाइका साथ पालना गर्न सबै ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ। नेप्सेको सुपरिवेक्षण विभागले मंगलबार ९२ वटै ब्रोकर कम्पनीलाई यस सम्बन्धमा परिपत्र जारी गरेको हो।
केही ब्रोकर कम्पनीहरूले लगानीकर्ताको वास्तविक कोल्याट्रल लिमिटभन्दा बढी रकमसम्म खरिद आदेश प्रविष्ट गर्न दिने, अस्थायी रूपमा खरिद आदेश राखेर बजारमा माग उच्च देखाउनेजस्ता गतिविधि गरेको पाइएपछि नेप्सेले यस्तो निर्देशन जारी गरेको जनाएको छ।
यस्ता कार्यले बजारमा नकारात्मक प्रभाव पार्ने भएकाले सम्बन्धित ब्रोकर कम्पनीहरूलाई स्पष्टीकरण सोध्ने तथा आवश्यक परे सचेत गराउनेलगायतका कारबाही गरिने पनि नेप्सेले स्पष्ट पारेको छ।
नेप्सेका अनुसार लगानीकर्ताको वास्तविक कोल्याट्रल लिमिटभन्दा बढी रकमका खरिद आदेश प्रविष्ट गर्न दिनु तथा कृत्रिम रूपमा माग देखाउने प्रयास गर्नु धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ (१) विपरीतको कार्य हो।
उक्त विनियमअनुसार अब ब्रोकरहरूले कुनै पनि खरिद आदेश स्वीकार गर्दा त्यस आदेश कार्यान्वयन हुँदा लाग्ने अनुमानित कुल रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित लगानीकर्ताबाट अग्रिम रूपमा लिनुपर्नेछ। अर्थात्, अब सेयर खरिद आदेश दिनुअघि लगानीकर्ताले अनिवार्य रूपमा कम्तीमा २५ प्रतिशत रकम पहिले नै तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
यससँगै नेप्सेले विनियमावली विपरीत लगानीकर्ताको कोल्याट्रल लिमिटभन्दा बढी रकमका खरिद वा बिक्री आदेश प्रविष्ट गर्न दिने तथा पछि रद्द गर्ने उद्देश्यले यस्ता आदेश प्रविष्ट गराउने कार्य नगर्न–नगराउन सबै ब्रोकर कम्पनीलाई कडा निर्देशन दिएको छ।


