काठमाडौँः केटिएम ग्रुपअन्तर्गतको केटिएम हस्पिटालिटी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पुगेको छ। कम्पनीले वैशाख १४ गते औपचारिक रूपमा प्रस्ताव पेश गरेको हो।
कम्पनीले कूल १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि स्वीकृति मागेको छ। प्रस्तावित आईपीओ निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
पर्यटन तथा आतिथ्य क्षेत्रमा सक्रिय केटिएम हस्पिटालिटीले चितवनमा अन्तर्राष्ट्रिय स्तरको रोयल टुलिप लक्जरी रिसोर्ट सञ्चालन गर्दै आएको छ। कम्पनीले फ्रान्सको प्रतिष्ठित लुभ्र होटल्स समूह अन्तर्गतको पाँचतारे रिसोर्ट द रोयल ट्युलिप चितवन सञ्चालन गरिरहेको छ।
पर्यटन पूर्वाधार विस्तार र व्यवसाय विस्तारका लागि पूँजी जुटाउने उद्देश्यले कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको जनाएको छ। सेबोनबाट स्वीकृति प्राप्त भएपछि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिनेछ।


