काठमाडौं – ओपनर कुशल भुर्तेल र आशिफ शेखले जिम्बवेविरुद्ध कीर्तिमानी ओपनिङ साझेदारी गरेका छन्। आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको हो।
जिम्बावेमा जारी ग्लोबल छनोटमाको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। हरारेकामा नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको हो भने आयोजक जिम्बावेले पहिले बलिङ गरिरहेको छ। त्यसपछि नेपालका कुशल भुर्तेलले ६३ बलमा अर्धसतक पुरा गरेका थिए।
यता पहिले ब्याटिङ गरेको नेपालले विनाविकेटको क्षतिमा ११५ रन बनाएसँगै नेपालले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी गरेको हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले २६ ओभर चलिरहदा कीर्तिमान बनाएका हुन्।
यसअघि नेपालको पहिलो विकेटको लागि ११४ रनको साझेदारी गरेको थियो। यो साझेदारी पनि कुशल र आसिफले नै ओमानविरुद्ध सन् २०२२ मा गरेका थिए।
त्यति मात्र होइन नेपालले अर्को कीर्तिमान पनि बनाएको छ। खेलमा १४० रन बनाएसँगै नेपालले कुनै पनि विकेटका लागि अहिलेसम्मकै अर्को कीर्तिमान बनाएको छ। त्यस्तै, कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। उनी सतकको नजिक पुगेका छन्।


