काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ र इच्छुक तथा योग्य उम्मेदवारहरूले आज (वैशाख २१ गते) आफ्नो आवेदन दर्ता गरिसक्नुपर्नेछ।
अध्यक्ष पदका लागि आवेदन अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा दिनुपर्ने व्यवस्था गरिएको छ। सिफारिस समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै ७ दिनको समय दिएको थियो, जुन आज वैशाख २१ मा समाप्त हुँदैछ। आवेदनका लागि उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (सीभी) र स्वघोषणा फारम अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
यस पद पूर्व अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त भएको हो। अब नियुक्त हुने नयाँ अध्यक्षले श्रेष्ठको कार्यकालको बाँकी अवधिका लागि मात्र जिम्मेवारी सम्हाल्नेछन्।
सरकारले अध्यक्ष पदका लागि निश्चित मापदण्ड तय गरेको छ। उम्मेदवारको उमेर ३० देखि ६५ वर्षभित्र हुनुपर्नेछ भने वित्त, अर्थशास्त्र, बैंकिङ, पूँजी बजार वा बीमा क्षेत्रमा उच्च शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा नीति निर्माण र व्यवस्थापनमा अनुभव तथा दक्षता भएको व्यक्ति हुनुपर्नेछ।
पूँजी बजारका सरोकारवालाहरू नयाँ नेतृत्वप्रति उच्च अपेक्षा राखिरहेका छन्। विशेषगरी रोकिएका आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने र बजार सुधारका कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा लगानीकर्ताहरूको चासो रहेको छ।


