काठमाडौँः नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले वैशाख १७ गतेको पत्र मार्फत बैंकलाई हाल कायम चुक्ता पुँजी ५० प्रतिशत हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसंगै बैंकलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ।
हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ । नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढ्नेछ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। बैंकले २ः१ को अनुपातमा ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाखको हकप्रद निष्काशनको प्रस्ताव गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यका अनुसार बैंक हाल प्राथमिक पूँजी कोषको दबाबमा रहेकाले हकप्रद सेयर निष्कासन बैंकको टर्नअराउण्ड रणनीतिको महत्वपूर्ण हिस्सा बन्नेछ। उनका अनुसार बैंकसँग बजारमा कर्जा लगानीका लागि पर्याप्त तरलता उपलब्ध भए पनि पूँजी कोषको सीमाका कारण नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्था सिर्जना भएको छ।
“राष्ट्र बैंकको नियमानुसार बैंकहरूले आफ्नो जोखिम भारित सम्पत्तिको निश्चित प्रतिशत प्राथमिक पूँजी कायम गर्नुपर्छ। हामी अहिले ९ प्रतिशतको सीमाको आसपासमा छौँ, जसले गर्दा हामीसँग पर्याप्त पैसा भएर पनि नयाँ ऋण दिन सक्ने अवस्था छैन,” शाक्यले भने।
हकप्रद सेयर निष्कासनपछि बैंकको प्राथमिक पूँजी कोषमा प्रत्यक्ष वृद्धि हुने र त्यसले बैंकलाई ४० देखि ५० अर्ब रुपैयाँसम्म थप कर्जा प्रवाह गर्ने क्षमता प्रदान गर्ने उनको विश्वास छ। यसले बैंकको व्यवसाय विस्तार, आम्दानी वृद्धि र दीर्घकालीन वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यसअघि न्यूनतम प्राथमिक पूँजी कोष कायम गर्न नसकेपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो। तर चालू आर्थिक वर्षको मौद्रिक नीतिले पूँजी वृद्धि गर्न हकप्रद सेयर तथा अन्य वित्तीय उपकरण प्रयोग गर्न अनुमति दिएपछि बैंकले त्यस अवसरको उपयोग गर्न लागेको हो।
हाल बैंक करिब ६ अर्ब रुपैयाँको सञ्चित घाटामा रहेको छ। खराब कर्जा बढ्दै जाँदा त्यसका लागि ठूलो रकम प्रोभिजनिङमा राख्नुपर्दा बैंकको पूँजी कोषमा नकारात्मक असर परेको बैंकले जनाएको छ। सीईओ शाक्यका अनुसार विगतका यस्ता वित्तीय चुनौतीलाई सम्हाल्दै बैंकलाई पुनः नाफामूलक र सबल संस्थामा रूपान्तरण गर्न नयाँ पूँजीको इन्जेक्सन अनिवार्य भइसकेको छ।
हकप्रद सेयर निष्कासनको अर्को प्रमुख उद्देश्य निक्षेपकर्ताहरूको सुरक्षा सुनिश्चित गर्नु तथा बैंकप्रतिको जनविश्वास अझ सुदृढ बनाउनु रहेको बैंकले जनाएको छ। उनले हकप्रद सेयर निष्कासनपछि वित्तीय सूचकहरू क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
पूर्वगभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकलाई हकप्रद निष्काशनमा रोक लगाएका थिए। तर, गभर्नर प्राडा विश्वनाथ पौडेल आएपछि हकप्रदको प्रस्ताव आएको हो।
एनआइसी एसिया बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नको लागि पनि राष्ट्र बैंकमा आवेदन दिएको छ , तर हालसम्म बैंकले स्विकृति भने पाएको छैन ।


