काठमाडौं – जिम्बावेमा आजबाट सुरु भएको आईसीसी विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले आयोजक टिमलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
हरारेको हरारे क्रिकेट क्लबको मैदानमा जारी खेलमा नेपालले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर २९० रन बनाएपछि जिम्बावेले २९१ रनको लक्ष्य पाएको हो।
नेपाले आजको खेलमा कीर्तिमानी ओपनिङ साझेदारी गरेको थियो। ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले १७१ रनको साझेदारी गरेका थिए। त्यसक्रममा कुशल ९५ बल खेल्दै ९९ रन बनाएर आउट भए। ६३ बलमा ५० रन पुरा गरेका कुशलले दुई छक्काका साथ १५ बाउन्ड्री प्रहार गरेका थिए। कुशल टेस्ट राष्ट्रविरुद्ध अर्धसतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। तर उनी शतक बनाउनबाट एक रनले चुके।

कुशल आउट भएपछि मैदानमा अर्का ओपनर आशिफ लाई साथ दिन कुशल मल्ल आएका थिए। त्यसपछि आशिफ मैदानमा धेरै समय टिक्न सकेनन्।
आशिफले सय बल खेल्दासम्ममा सात चौका प्रहार गरिसकेको थिए। अर्धसकत बनाएका आशिफ ६६ रन बनाए पेवेलियन फर्किएका थिए।
नेपालविरुद्ध वेलिङटन मसाकादला घातक बलर सावित भएका छन्। उनले खेलमा सबैभन्दा इकोनोमी बलिङ गरे भने दुई विकेट पनि लिए। उनले दुवै ओपनरलाई पेवेलियन पठाएका थिए।
तेस्रो नम्बरमा मैदान पसेका कुशल मल्लले पनि राम्रो पारी खेले। आशिफ आउट भएपछि चौथो नम्बरमा मैदान पसेका रोहितले कुशल मल्लसँग ७२ रनको साझेदारी गरेर बाहिरिए। रोहित ४४ औं ओभरको पहिलो बलमा २९ बल खेल्दै ३१ रन बनाएर आउट भए।
यता कुशलले पनि राम्रो प्रदर्शन गरेका छन्। तेन्दी चताराको हातबाट आउट हुनुअघि ४२ बल खेल्दै पाँच चौका प्रहार गरेका मल्लले ४१ रन बनाएका थिए।

कप्तान रोहितलाई पेवेलियन फर्काएका रिचार्ड एनगारावाले आरिफ शेखलाई पनि धेरै समय मैदानमा टिक्न दिएनन्। एनगारावाले आरिफशलाई विकेटकिपर मान्दान्देको हातबाट क्याचआउट गराइहाले। त्यतिबेलासम्म आरिफले १० रन मात्र जोडेका थिए। खेलमा बाउन्ड्रि प्रहार नगरी आउट हुने पहिलो खेलाडीमा आरिफ रहे।
एनगारावा त्यतिमा मात्र रोकिएनन। उनले लगातार विकेट लिइरहे। खेलको ४९ औं ओभरमा उनले लगातार दुई विकेट लिए। त्यतिबेल नेपालका गुल्सन झा र भीम सार्की आउट भएका थिए। झा १३ रन बनाएर आउट भए। अन्तिममा दिपेन्द्र सिंह ऐरी सात रन बनाएर डगआउट फर्किएका थिए। उनी मुजाराबानीकाे शिकार भएका थिए।

खेलको अन्तिममा सोमपाल कामी र करण केसी बाँकी रहे। केसीले २ रन बनाउँदा कामीले रन जाेड्नै पाएनन्। ग्लोबल छनोटमाको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो।
नेपालको प्लेईङ–११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने


