काठमाडौँः साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएकोमा आज भने ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ९.३१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको मात्र २३ करोड ५७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


