काठमाडौँः सर्वोच्च अदालत को संवैधानिक इजलासले बैंक तथा वित्तीय संस्थाहरूका लागि धितोमा लिएको जग्गा बिक्रीसम्बन्धी कानुनी प्रावधान खारेज गरेको छ।
अदालतले भूमिसम्बन्धी ऐन २०२१ को दफा १२(च) बदर गर्दै लिलाममा नसकारिएको जग्गा तीन वर्षभित्र अनिवार्य रूपमा बिक्री गर्नुपर्ने व्यवस्था हटाएको हो।
यस निर्णयसँगै अब बैंकहरूले धितोका रूपमा आफ्नो नाममा आएको जग्गा तोकिएको समयसीमाभित्र बेच्नैपर्ने कानुनी दबाबबाट मुक्त भएका छन्। यसअघि तीन वर्षभित्र बिक्री गर्न नसके सरकारको अनुमति लिएर मात्र प्रक्रिया अघि बढाउनुपर्ने प्रावधान पनि अब लागू नहुने भएको छ।
अदालतको आदेशपछि बैंक तथा वित्तीय संस्थाहरूले हदबन्दीभन्दा बढी जग्गा समेत आफ्नो नाममा लामो समयसम्म राख्न सक्ने बाटो खुलेको छ।
उक्त प्रावधान संविधानसँग बाझिएको दाबी गर्दै अधिवक्ता सागर अधिकारी लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो फैसला सुनाएको हो।


