काठमाडौँः बढ्दो खराब कर्जा र कमजोर ऋण असुलीका बाबजुद बैंकहरूको नाफामा भने उल्लेख्य सुधार देखिएको छ। चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्ष सोही अवधिमा यो नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ थियो। अर्थात्, एक वर्षमा बैंकहरूको नाफा १९.३० प्रतिशतले वृद्धि भएको छ, जुन उल्लेखनीय हो।
यता चैत मसान्तसम्मको तथ्यांकलाई हेर्दा वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात ५.२५ प्रतिशत पुगेको छ। जुन नेपाल राष्ट्र बैंकले तोकेको ५ प्रतिशत सीमाभन्दा माथि हो। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ४.८२ प्रतिशत थियो, जसले एक वर्षमा ०.४३ प्रतिशत विन्दुको वृद्धि देखाउँछ। कुल २० मध्ये ९ बैंकको यो सीमा नाघेको छ। जसले कर्जा असुलीमा समस्या अझै समाधान नभएको संकेत गर्छ।
उच्च जोखिम समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनआइसी एशिया बैंक अग्रस्थानमा देखिएका छन्। यि बैंकहरूको खराब कर्जा ८.४ प्रतिशतभन्दा माथि पुगेको छ। हिमालयन बैंकको खराब कर्जा ७.९८ प्रतिशत छ भने सिटिजन्स बैंक र प्राइम कमर्सियल बैंक को क्रमशः ६.८२ र ६.३९ प्रतिशत रहेको छ। कुमारी बैंकको ६.९४ प्रतिशत खराब कर्जा पनि उच्च जोखिमकै दायरामा पर्छ।
मध्यम जोखिम समूहमा लक्ष्मी सनराइज बैंक ५.२९, कृषि विकास बैंक ५.०६, ग्लोबल आईएमई बैंक ४.९७, नेपाल बैंकको ४.९६, एनएमबी बैंक ४.९५ र राष्ट्रिय वाणिज्य बैंक ४.४८ प्रतिशत रहेको छ।
कम जोखिम समूहमा नबिल बैंक ४.३७, माछापुच्छ्रे बैंक ४.०१, सानिमा बैंक ३.९९ र सिद्धार्थ बैंक ३.७१ प्रतिशत छ। अझ राम्रो प्रदर्शन गर्ने बैंकहरूमा नेपाल एसबिआई बैंक २.५३, स्ट्यान्डर्ड चार्टर्ड बैंक १.८१ र एभरेष्ट बैंक ०.६१ प्रतिशतले अग्रस्थानमा छन्।
खराब कर्जा बढेसँगै बैंकहरूले कर्जा नोक्सानीका लागि प्रोभिजन पनि तीव्र रूपमा बढाएका छन्। फागुनसम्म वाणिज्य बैंकहरूले करिब २ खर्ब ९७ अर्ब रुपैयाँ प्रोभिजन छुट्याइसकेका छन्। जुन गत असारको २ खर्ब ४६ अर्ब रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो। यसले कर्जा गुणस्तरमा अझै दबाब रहेको स्पष्ट देखाउँछ।
अर्कोतर्फ बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । फागुनसम्मको तथ्यांकलाई हेर्दा ४३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ ।
यो सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात अर्ब २६ करोड ६७ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल ३६ अर्ब २० करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो।
चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले नाफा बढाएका छन्। चैत मसान्तसम्म वाणिज्य बैंकहरूको औसत नाफा १९.३० प्रतिशतले बढेको हो।
नौ महिनामा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेका छन्। गत वर्षको नौ महिनामा बैंकहरूको खुद नाफा ४१ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । बैंकको नाफा झण्डै आठ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
सबैभन्दा बढी नाफा कमाउने बैंकको नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ। बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै शीर्ष स्थान ओगटेको हो गरेको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३३.९२ प्रतिशतले बढी हो।
नाफा वृद्धिदरका आधारमा भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। गत वर्षको सोही अवधिमा २८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ। जसले १३६१.७६ प्रतिशतको उल्लेखनीय वृद्धि देखाउँछ। यसलाई बैंकको व्यवसाय विस्तार र खराब कर्जा व्यवस्थापनमा सुधारसँग जोडेर हेरिएको छ।
रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने बैंकहरूमा नबिल बैंकपछि ग्लोबल आइएमई बैंकको ४ अर्ब ४० करोड रुपैयाँ र कुमारी बैंक ४ अर्ब १७ करोड रुपैयाँ रहेका छन्।
त्यस्तै, सबैभन्दा कम नाफा कमाउने बैंकहरूमा एनआईसी एशिया बैंक १४ करोड रुपैयाँ, प्रभु बैंक ८५ करोड रुपैयाँ र सिटिजन्स बैंक १ अर्ब ३० करोड रुपैयाँ रहेको छ।
नाफा वृद्धिदरका हिसाबले कुमारी बैंकपछि राष्ट्रिय वाणिज्य बैंकले १२९.३४ प्रतिशत गरेको छ। तर, केही बैंकहरूको नाफामा गिरावट पनि देखिएको छ। प्रभु बैंकको नाफा ५४.६१ प्रतिशत घट्दा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३०.६९, कृषि विकास बैंकको २४.४२ र एनआईसी एशिया बैंकको १०.४९ प्रतिशत घटेको छ ।
लाभांश वितरण क्षमता कमजोर
यता बैंकहरूको नाफा बढेपनि सेयरधनीका लागि लाभांश वितरण गर्ने वास्तविक क्षमता भने कमजोर रहेको तथ्य देखिएको छ । खुद नाफा सकारात्मक भए पनि वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा धेरै बैंकका सेयरधनी यस वर्ष पनि लाभांशविहीन हुने सम्भावना बढेको छ ।
विशेषगरी सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंक जस्ता ठूला वाणिज्य बैंकहरू यस सूचीमा परेका छन्। यी बैंकहरूको वित्तीय विवरणले देखाउँछ कि उनीहरूले नाफा कमाए पनि त्यो नाफा सेयरधनीलाई वितरण गर्न योग्य छैन।
यसको मुख्य कारण उच्च इम्पेयरमेन्ट चार्ज नियामकीय समायोजन र विगतका वित्तीय दायित्व हुन्। बैंकहरूले सम्भावित खराब कर्जाका लागि ठूलो मात्रामा प्रोभिजन राख्नुपर्दा खुद नाफा घट्ने वा वितरणयोग्य मुनाफा ऋणात्मक हुने अवस्था आएको हो।
पछिल्लो समय निक्षेपको ब्याजदर उल्लेख्य रूपमा घटेको छ, जसले बैंकहरूको लागत कम गरेको छ । जब बैंकहरूले निक्षेपकर्तालाई कम ब्याज दिन्छन्, उनीहरूको कुल खर्च घट्छ र त्यसले नाफामा प्रभाव पार्छ ।
यसको परिणामस्वरूप बैंकहरूको नाफा बढ्नुमा अर्को महत्वपूर्ण कारण नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको सुविधा पनि हो । राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको सुविधा दिएको छ, जसले समस्याग्रस्त कर्जालाई तुरुन्त खराब कर्जा वर्गमा राख्न नपर्ने अवस्था सिर्जना गरेको छ ।
साथै, केही कर्जाको जोखिम भार घटाइदिएको छ, जसले बैंकहरूको पूँजी पर्याप्तता अनुपात सुधार्न सहयोग गरेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार बैंकिङ क्षेत्रमा देखिएको नाफा अस्वभाविक रूपमा उच्च छैन। गत वर्षको तुलनामा केहि मात्र सुधार देखिएको उनले बताए। बैंकहरूले चालु आर्थिक वर्षको सुरुवात देखि नै कर्जा प्रवाहमा भन्दा पनि कर्जा रिकभरिमा फोकस भएकाले कर्जा प्रवाह लक्ष्य अनुसार नभएको उनले नेपाल क्लिक्ससँग भने। उनले खराब कर्जा बढ्दै गएको, कर्जा प्रवाह सुस्त रहेको र बजारमा तरलता सम्बन्धी दबाब देखिए पनि बैंकहरूले आफ्नो वित्तीय व्यवस्थापन सन्तुलित ढंगले गरिरहेको बताए ।
पौडेलले भदौ २३ मा भएको आन्दोलन तथा त्यसबाट भएको क्षतिको प्रभाव न्यूनीकरणका लागि राष्ट्र बैंकले ऋणीहरूलाई र बैंकहरूलाई सहजीकरण गरेकाले पनि बैंकको नाफा थोरै बढेको बताए। राष्ट्र बैंकले ऋणीहरूलाई कर्जा भुक्तानीमा सहजता दिन र बैंकहरूको सञ्चालनमा असर नपरोस् भन्ने उद्देश्यले लिइएका नीतिगत कदमहरूले अपेक्षितभन्दा ठूलो क्षति हुन नदिएको उनको भनाइ छ।
‘राष्ट्र बैंकको नीतिले बैंकहरूले प्रोभिजनमा राख्नुपर्ने रकम घटाएपछि बैंकको नाफामा सुधार देखिएको हो। यसको डिटेलमा अब चौथो त्रैमासिक सकिएपछि मात्र समिक्षा गर्न सकिन्छ ।’
हाल बैंकहरू नयाँ कर्जा विस्तारभन्दा पनि पुराना कर्जाको असुली (रिकभरी) र व्यवस्थापनमा केन्द्रित रहेको उनको भनाइ छ। यसले कर्जा वृद्धि सुस्त भए पनि जोखिम नियन्त्रणमा सहयोग पुगेको उनले दाबी गरे।


