काठमाडौँ: विवादित व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल थप १२ दिन हिरासतमै रहने भएका छन्। बुधबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले भट्टविरुद्ध पाचौँ पटक र अग्रवालविरुद्ध छैटौँ पटक १२ दिन म्याद थप गरेको हो।
यता सर्वोच्च अदालतमा उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ भैरहेको छ।
राजनीतिक संरक्षणमा विचौलियाका रूपमा राज जमाएका भट्टको आर्थिक गतिविधि र व्यावसायिक संलग्नतामाथि अनुसन्धान जारी छ।भट्टमाथि लामो समयदेखि राजनीतिक पहुँचको आधारमा सेटिङमार्फत् स्वार्थअनुरूप काम गराउँदै आएको आरोप छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनीविरुद्ध अनुसन्धान जारी छ।
भट्ट इन्फिनिटी होल्डिङ्स प्रालिका प्रमुख हुन्। यस कम्पनीमा भएको शंकास्पद वित्तीय कारोबारका कारण उनी २०७९ मंसिरमै अनुसन्धानको दायरामा तानिएका थिए। नेपाल राष्ट्र बैंकले कम्पनीको पुँजी अस्वाभाविक रूपमा वृद्धि भएको र लगानीको स्रोत नखुलेको भन्दै छानबिनका लागि सिफारिस गरेको थियो।
उपलब्ध विवरणअनुसार इन्फिनिटी होल्डिङ्सको चुक्ता पुँजी २०७७ असार मसान्तमा तीन करोड रुपैयाँ रहेकोमा एक वर्षमै बढेर ४८ करोड रुपैयाँ पुगेको देखिन्छ। तर उक्त वृद्धिको स्पष्ट स्रोत खुल्न नसक्दा शंका थप गहिरिएको हो।
त्यसैगरी, भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिलबाट ४५ करोड रुपैयाँ स्थानान्तरण भई पुनः सोही रकम इन्फिनिटी होल्डिङ्समा जम्मा गरिएको देखिएको छ। अनुसन्धानका क्रममा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा ४५ करोड रुपैयाँ लगानी गरिएको भेटिएको छ। तर उक्त लगानीको स्रोत र पारदर्शितामाथि प्रश्न उठेको छ। साथै, भट्ट र लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टबीच पारिवारिक सम्बन्ध रहेको र प्रभाव प्रयोग भएको हुनसक्ने आशंका पनि राष्ट्र बैंकको पत्रमा उल्लेख छ।
यति मात्र होइन, भट्टले विभिन्न कम्पनी र सहायक संस्थामार्फत ठूलो रकम दुरुपयोग गरेको समेत खुलेको छ। अनुसन्धानअनुसार उनले करिब तीन अर्ब ८१ करोड रुपैयाँ विभिन्न संस्थाबाट निकालेर सेयर बजारमा लगानी गरेका थिए। यसमध्ये दुई अर्ब ७३ करोड रुपैयाँ हिमालयन रि–इन्स्योरेन्सबाट, २२ करोड हिमालयन सेक्युरिटिजबाट, ३३ करोड नेपाल लाइफ इन्स्योरेन्ससम्बद्ध संस्थाबाट, २५ करोड एचएलआई लार्ज क्याप फन्डबाट र १६ करोड नेपाल माइक्रो इन्स्योरेन्सबाट निकालिएको देखिएको छ।
उक्त रकम भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत विभिन्न कम्पनीहरूको सेयर खरिदमा प्रयोग गरिएको थियो। यस क्रममा बीमा सम्बन्धी कानुन उल्घंन भएको हुनसक्ने आशंकामा नेपाल बीमा प्राधिकरणलाईसमेत अनुसन्धानका लागि संलग्न गराइएको छ।
यसैगरी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पनि सेयर बजारमा कृत्रिम कारोबार गरी मूल्यमा अस्वाभाविक चलखेल गरेको आरोपमा विवादित व्यवसायी दीपक भट्टलाई मुख्य दोषी ठहर गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ गर्न बनेको समितिले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिले भट्टबाट उनले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने गरेको निष्कर्ष निकालेको छ। भट्टसँग सम्बन्धित विभिन्न कम्पनी र ती कम्पनीका सञ्चालकहरूलाई दिनुपर्ने रकम नदिइ त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट गर्ने गरेको प्रतिवेदनमा भनिएको छ।
भट्टसँग कनेक्सन देखिएपछि उद्योगी शेखर गोल्छा पनि पक्राउ परेका थिए। १२ दिन हिरासत बसाइँपछि उनी अहिले पुर्पक्षका क्रममा थुनाबाहिर छन्। यस्तै भट्ट समूहको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडमा पूर्वगृहमन्त्री गुरूङलले ५३ लाख रुपैयाँ बढीको सेयर खरिद गरेको बाहिरिएको आरोपपछि उनी पदमुक्त भएका थिए। चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दबाबमा गुरुङले राजीनामा दिनुपरेको थियो।
यता अग्रवालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भैरहेको छ। शंकर ग्रुपका उपाध्यक्ष अग्रवाल पनि भट्टसँग कनेक्सन देखिएको छ भने उनी सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक/बीमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्ममा मुछिएका छन्। यस्तै कोभिड-१९ महामारीको समयमा थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोप पनि उनीमाथि छ।
अग्रवालका बुवासमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेकोमा उनी हाजिरी जमानीमा छुटेका थिए।



