काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) को धितोपत्र बोर्ड अध्यक्ष छान्न गठित सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका छन्। भट्टले स्वार्थ बाझिने अवस्था देखिएपछि नैतिकताका आधारमा जिम्मेवारी त्यागेका हुन्।
अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिएका छन्। गोपाल नाताले गुणाकरका दाजु हुन्। आफ्नै दाजु पनि प्रत्यासीका रूपमा देखिएपछि छनोट प्रक्रियामा आफ्नै नजिकको नातेदार सहभागी हुँदा निष्पक्षतामा प्रश्न उठ्न सक्ने भन्दै उनले अर्थ मन्त्रालयमा राजीनामा बुझाएका थिए। उनको राजीनामापछि रिक्त स्थानमा राष्ट्रिय योजना आयोगकै अर्का सदस्यलाई नयाँ संयोजकको जिम्मेवारी दिने तयारी रहेको मन्त्रालय स्रोतले पुष्टि गरेको छ।
धितोपत्र ऐनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वा तोकिएका सदस्यको नेतृत्वमा अध्यक्ष सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ। सोही बमोजिम गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्य बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको हो। सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहल रहेका छन्।


