काठमाडौँ: गोल्छा ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नियमित काममा फर्किएका छन्। हिरासतमुक्त भएको चौथो दिनमा उनले सामाजिक सञ्जालमार्फत आफू नियमित काममा फर्किएको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘अब काममा फर्किएँ।’
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेर हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएपछि उनी गत वैशाख १० गते पक्राउ परेका थिए।
गोल्छापत्नी सीमा गोल्छाले उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। वैशाख २१ गते उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले अनुसन्धान प्रक्रियामा कानुनले तोकेका मापदण्ड पालना नभएको र आवश्यक प्रक्रिया पूरा नगरी हिरासतमा राखिएको भन्दै गोल्छालाई धरौटीमा थुनामुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो।
सर्वोच्चको परमादेशपछि ५ लाख धरौटी बुझाएर छुटेका गोल्छालाई छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमासम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो।
वैशाख २२ गते म्याद थपका लागि गोल्छालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएकोमा अदालतले म्याद थप्न अस्वीकार गरेको थियो। हिरासतमा राख्न अदालतले अनुमति नदिएपछि गोल्छा सोही दिन छुटेका थिए।


